काठमाडौं । चार वर्षअघि देखि ओरालो लागेको अलैँचीको मूल्यमा यो वर्ष केही सुधार आएको छ । केही वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २२ हजार पाँच सयसम्म आएको थियो ।
हाल अलैँचीको मूल्य प्रतिमन ३८ हजार रुपैयाँ रहेको महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए । यस्तै, मध्यम खालको प्रतिमन ३९ हजार रुपैयाँ र उत्कृष्ट अलैँची प्रतिमन ४० हजार रुपैयाँमा कारोबार भएको काकीको भनाइ छ । ‘अहिले बजारमा अलैँचीको उत्पादन घटेको अनुमान छ । यदि अलैँचीको उत्पादन घट्यो भने अलैँचीको मूल्य बढ्छ,’ उनले भने, ‘अहिलेचाहिँ अलैँचीको मूल्य चार वर्षयताकै राम्रो छ ।’
नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने भए पनि ४१ प्रतिशत उत्पादन ताप्लेजुङले धान्छ । अलैँची कारोबारको राजधानीका रूपमा झापाको बिर्तामोडलाई मानिन्छ । ९८ प्रतिशत अलैँचीको निकासी पूर्वीनाका काँकडभिट्टा बाट हुँदै आएको छ । विश्व बजारमा अलैँचीलाई सुकमेलले विस्थापित गरेका कारण अलैँचीको मूल्य घटेको महासचिव भट्टराईको भनाइ छ ।