इटहरी । भदौ २३ गते इटहरीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका मोरङको बूढीगंगा–७ का १८ वर्षीय सान्तनु ढकाललाई अर्थमन्त्री रामेश्वर खनालले अस्पतालमै पुगेर भेट गरेका छन्।
बुधबार विराटनगर आएका अर्थमन्त्री खनालले विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत ढकालको स्वास्थ्य अवस्था बुझेर परिवारलाई सान्त्वना दिएका हुन्।
अस्पतालका अनुसार सान्तनुको सम्पूर्ण उपचार निःशुल्क रूपमा भइरहेको छ। यसले आर्थिक बोझ कम हुनुका साथै घाइतेको मनोबल बढाएको छ।
ढकाल सुकुना कलेजमा विज्ञान विषयमा कक्षा ११ मा अध्ययनरत छन्। गालामा गोली लागेपछि उनी आवाज निकालेर बोल्न सक्दैनन्। उनको उपचार जारी छ।