काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेले सनम शाक्यको परिवारलाई १३ लाख बढी क्षतिपूर्ति भर्नुपर्ने भएको छ । तस्करीको सुन हराएपछि गोरे समूहबाट शाक्यको हत्या भएको थियो ।
जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले जानकारी दिए ।
श्रेस्तेदार राणाले गोरेलाई मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले १३ लाख ११ हजार रुपैयाँ क्षतीपूर्ती भराउने गरी फैसला भएको बताए । सुन तस्करी प्रकरणमा भने सफाई पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गरेको थियो । असोज १९ गतेको फैसलामा अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरेपनि सजाय निर्धारण गरेको थिएन । गत असोज १९ गते सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो ।
सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । ती मध्ये २१ जना अझै फरार छन् । गोरेसहित ८ जनालाई भने अदालतले शाक्यको हत्या अभियोगमा दोषी ठहर गरेको थियो । २०७४ माघ ९ गते आयात भएको ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको दाबी सरकार पक्षको थियो ।