२०७८ साल कार्तिक ७ गते अाईतबार

माधवकुमार नेपाललाई देखेर उब्जिएका २५ प्रश्न

अटल १९ असोज २०७८, मङ्गलबार १०:३२ मा प्रकाशित

संसद पुनः स्थापना र पुनः नेकपा (एमाले) भएपछि नेपाली राजनीतिका फाँटमा धेरै उथलपुथल भएको विषय जगजाहेर छ नै । यस प्रकरणले नेपाली राजनीतिमा र नेपाली जनतामा के कति नोक्सान पुग्यो त्यसको लेखाजोखा निकट भविष्यमा लेखिने इतिहासले गर्ला । केही दुईचार जना मानिस वा नेताको महत्वाकांक्षा, अदूरदर्शिताका कारणले धेरै नेपाली जनताका श्रम– पसीनाबाट र शहीदहरूको बलीदानीबाट बनेको राजनीतिको पिरामीड ढलेको छ । यस पिरामीडले पिरामीड ढाल्न गल लगाउने भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई नै उठ्नै नसक्ने गरी थिचेको छ । योग्यता, क्षमता, दूरदर्शिता, हार्दिकतापूर्ण त्याग, प्रष्ट दृष्टिकोण र सहनशीलता नभएका, विभिन्न कागताली र तिकडमबाट उक्सिएकाहरूको सक्कली अनुहार कसरी प्रष्ट हुन्छ भन्ने कुरा पनि यस घटनाले देखाएको छ । दिँदा नखाने राति कोल चाट्ने माकुनेले तल उठेका प्रश्नको उत्तर दिन सक्लान् ?

प्रश्नहरू

१) टुँडीखेलमा सर्वप्रथम जननेता मदन भण्डारीले सम्बोधन गर्ने क्रममा आफ्नो पालामा माधवकुमार नेपाल बोल्दा युवा श्रोताहरूले ‘भयो भयो ! नजान्नेले किन बोल्नु ! समय नले, मदनकुमार भण्डारीलाई समय चाहिन्छ’ भनेर गरेको बेइज्जत अहिले बाहिर आउने थिएन कि ?

२) मदन भण्डारीको रहस्यमय अवसानपछि सीपी, केपी, आर के बीचको अनमेलका कारणले संयोगवस महासचिव हुन पुगेका मात्र हुन् माकुने । योग्यता, क्षमता भएर होइन भन्ने यथार्थ उजागर हुने थिएन कि ?

३) महासचिव भएपछि त्यतिबेलादेखि हालसम्म मदन भण्डारीको उत्तराधिकारी अभिव्यक्तिको खल्लोपन हुने, वाकपटुता नभएको गोज्याङ्ग्रे महासचिव भन्ने यथार्थ पनि दोहोरिने थिएन कि ?

४) माकुने अलिअलि समन्वयवादी, मध्यस्थतावादी मात्र हो, दृष्टिकोण भएको, विचार भएको मानिस हुँदै होइन भन्ने सत्यता लुकेरै बस्थ्यो कि ?

५) भाषण गर्दा सम्बोधन, आदि, मध्य र अन्त्यको ज्ञानसम्म नभएको भद्दापन भएको भन्ने चर्चा पुनरावृति हुने थिएन कि ?

६) हेटौडामा अबको प्रधानमन्त्री नेपाली काँग्रेसका रामचन्द्र पौडेल भनेर बहकिएको र तत्काल झलनाथ खनालको समर्थन गर्ने बोलिको ठेगान नभएको जोइटिङ्ग्रे भन्ने यथार्थ बाहिरिने थिएन कि ?

७) दुई–दुई ठाउँबाट पराजित भएरपनि नैतिकता बेचेर प्रधानमन्त्री भएका उनलाई नैतिकता र सिस्टम बेचुवा भनेर भनिरहने पो थिएनन् कि ?

८) नेपाली कम्युनिस्ट आन्दोलनका शिखर–आदर्श पुरुष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला उपप्रधानमन्त्री हुँदा म ठूलो पार्टीबाट आएको भन्ने घमण्ड र बालहठले मनमोहन अधिकारीलाई सताउनु सताएको कुरा दोहोरिने थिएन कि ?

९) आफ्नो गाउँ आफै बनाउँ र नौ स को कार्यक्रमको भित्रभित्र कैँची चलाउने र बाहिर यसको प्रणेता मैँ हुँ भन्ने गरेको आडम्बरी प्रवृति पनि उजागर हुनेथिएन कि ?

१०) आफु प्रधानमन्त्री हुँदा प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई अनाहकमा कुट्ने मन्त्रीलाई चुइक्क केही भन्न र गर्न नसक्ने, सत्ता टिकाउ धन्दामामात्र लाग्ने लाचार छाँया भएको व्यहोरा छर्लङ्गिने थिएन कि ?

११) आफ्नै गृह जिल्ला रौतहटमा २०÷२२ जना मानिसलाई यो एक्काइसौं शताब्दिमा जिउँदै ईट्टाभट्टामा हाल्ने, सुन्दा पनि जोकोहीको आङजिरिङ्ग हुने आपराधिक घटनाका दोषीलाई कार्यवाही नगर्नेमात्र होइन उल्टै आफ्नो मन्त्री बनाउनेसम्मको हर्गत गरेको सत्य घटना पनि प्रकाशमा आउने थिएन कि ?

१२) माओत्सेतुङ जनताका बीचमा भन्ने, सचित्र चीन, भन्ने पत्रिका देखेका उनले प्रधानमन्त्री भएका बेला साधारण पब्लिक बसमा सवार भई काठमाडौं यात्रा गरेको लाजमर्दो वचकनापन बाहिर आउने थिएन कि ?

१३) महान व्यक्तित्वहरूका अमर वाणिहरू सङ्कलन गरेको वा महान कम्युनिष्ट नेता माओत्सेतुङका सङ्कलित रचना देखेका उनले आफ्ना गोज्यङ्ग्रे पुङ् न पुच्छरका भाषण सरकारी खर्चमा प्रकाशन गरेको कुत्सित कुरा कोट्टिने थिएन कि ?

१४) आफु प्रधानमन्त्री हुँदा भूमीसम्बन्धी फायल भूमिसुधार मन्त्रालयबाट नआएपछि भौतिक योजना मन्त्रालयबाट झिकाई ककलिता निवास–जग्गा बिक्रीवितरण सम्बन्धि फायल स्वीकृत गरेको अपराधपूर्ण घटना गुपचुप नै रहन्थ्यो कि ?

१५) पूर्व राजा ज्ञानेन्द्र राजा हुँदा धनुष्टङ्कार भएर दाम चढाएको र उनै राजाका पालामा प्रधानमन्त्री खान पाउँ भनी राजाका पाउमा निवेदन चढाएको कायरतापूर्ण लम्पसार परेको लाजमर्दो कुरा गुपचुप नै रहन्थ्यो कि ?

१६) क. भरतमोहन अधिकारी, क. केपी ओली बिमारी भएको अवस्थामा नवौँ महाधिवेशनताका इटहरीमा भाषण गर्दा ‘मृत्युशैयामा परेको मानिसले पार्टीको नेतृत्व गर्न सक्छ ?’ भन्दै असंवेदनशील, मानवताहीन, तुच्छ अभिव्यक्ति पनि कसले कोट्याइरहन्थ्यो र ?

१७) जनसांस्कृतिक वा प्रगतिशील संस्कृतिको बिल्कुल जानकारी नभएका माकुनेले आफ्ना बुवाको मृत्युपछि काजकिरिया नगरेर, कपाल नकाटेर अतिवाद देखाए भने विभिन्न ठाउँमा घोप्टो पर्ने वा लम्पसार परी पूजा गरेर म धार्मिक हूँ भन्ने आडम्बर पनि देखाएका छन् । त्यसैले यी नेता हुने योग्यता नपुगेका मान्छे हुन् भन्ने कुरा पनि किन कोट्याइरहनु पथ्र्यो र ?

१८) हालै ‘म नेता हूँ नेता ! मैले मोरङमा एक्लै सङ्गठन गरेको हूँ’ भनेको लाजमर्दो हुङ्कार वा छ्या ! भन्नु पर्ने भनाइलाई नकोट्याउँदा पनि हुने । तर जुन जिल्लामा मनमोहन अधिकारी, भरतमोहन अधिकारी, डी पी अधिकआरी, मोहनचन्द्र अधिकारी, राधाप्रसाद घिमिरे, मदन भण्डारी आदि जस्ताले नेपालमै ऐतिहासिक सङ्गठन, आन्दोलन गर्नुभयो, त्यो इतिहासलाई निर्लज्ज इन्कार्ने, अवमूल्यन गर्ने, जति धिक्कारे पनि नपुग्ने दुर्वाच्य विषवमनको विषय ननिकाल्दा पनि हुन्थ्यो कि ?

१९) नवौँ अहाधिवेशनबाट आफैलाई पराजित गरेर आएको अध्यक्षलाई विपक्षी दलको नेता शेरबहादुर देउवा र प्रचण्डसँग मिलेर वा उनीहरूको शरण परी नेकपाको साधारण सदस्यसमेत नरहने गरि निष्काशन गर्ने लाजमर्दो, कुरीकुरी हुने काम गर्ने मानिसले पद्धतिमा, सिद्धान्तमा, निष्ठामा, नीतिमा हिड्ने मान्छे हूँ भन्नु कति घिनलाग्दो कुरा हो ?

२०) केपी ओलीको दोस्रोपल्ट मृगौला प्रत्यारोपण हुँदा बखत आँ –––– गरेर अब झर्ला र खान पाउँला भनेर बोलेको र ओठ चाटेको तर केपी को प्रत्यारोपण सफल भएपछि देखिएको निराशाले माकुने मानवता शून्य हुन् भन्ने कुरा प्रष्ट हुँदैन र ? नेता त वीरसँग प्रतिस्पर्धा गर्छ होइन र ? वीर त घोर प्रतिस्पर्धीसँग लड्छ तर मरिजाओस् भनेर सत्तो सराप गर्दैन होइन र ? यिनले कहाँ पढे ? च्याङ्काइशेक र माओत्सेतुङको भेटसंवाद ?

२१) चैत्र महिनामा महाधिवेशन गरेर विधिपूर्वक पार्टी र सरकार चलाउने निर्णयलाई इन्कार गरेर विपक्षीसँग गठजोड गर्नुमा कथनी एक थोक करणी अर्कै रहस्यमय षड्यन्त्र हो भन्नु किन ठीक नहुने ?

२२) अरूका उक्सावट, आरिस वा बालहठका कारणले केपी ओली प्रतिगामी हो, म सच्चा कम्युनिस्ट हूँ भन्दै सञ्चारकर्मीसँग निर्लज्ज कुर्लिने, धोति खुस्किएको थाहा नपाउनेले फेरि किन एकताका लागि भन्दै केपीसँग वार्तामा बस्नुपर्ने ?

२३) जे जस्तो, जसरी भएपनि सिंहदरबारमा प्रधानमन्त्रीको लहरमा फोटो टाँसिएकै थियो, आफ्ना पार्टीका अध्यक्ष्यको विरोधमा निर्लज्ज ढङ्गले विपक्षी दलका नेताका पाउमा लम्पसार नपरेको भए राम्रै हुनेथियो । तर अब त इतिहासमा दाग लागेको कलङ्कित तस्बिर हुन पुग्यो नि त ! अरूलाई पिरोलो !

२४) सकिन्छ भने आफ्नो अध्यक्षलाई वा पार्टीलाई रचनात्मक, सकारात्मक सरसल्लाह दिएर बसेको भए विगतमा चिठ्ठामै परेर आएका भएपनि मान–सम्मान, ओहोदाको इज्जत रहन्थ्यो, कदर हुन्थ्यो नि ! तर योग्यता, क्षमता नपुगेका मानिस ओहोदामा पुगेभने आफू र आफ्नो घर समाप्त पार्छन् । बोकाका मुखमा कुभिण्डो हुन्छ भन्ने भनाइ सार्थक नभई किन छोड्थ्यो र ? क. माधवकुमारको मात्र होइन, क. झलनाथ खनालको पनि त्यही गती भयो । जननेता मदनकुमार भण्डारीले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको आन्तरिक कालमा जे एन खनाललाई नेकपा मालेको प्रतिनिधिको रूपमा मन्त्री मण्डलमा पठाएको बेला त्यति प्रभावकारी मन्त्रीको दायित्व पूरा नगरे पनि मालेबाट आएकाले सम्मानपरक सन्देश बढी कमजोरी कम नै प्रकाशमा आएको हो । तैपनि विभिन्न जोड–घटाउका तालमेलले एकपल्ट प्रधानमन्त्री हुने मौका मिलेकै थियो । सिंहदरबारमा फोटो टाँसिएकै छ । बाहिरी आवरण (शरीर) सुन्दर र भव्य छँदैछ तर राष्ट्रपतिको धङ्धङे महत्वाकांक्षाले उचाल्नु उचाल्यो । आफ्ना पार्टीका अध्यक्षको अवाञ्छित विरोध गर्दागर्दै आफ्नो धोती स्वात्तै फुस्कियो । प्रम भइसकेका मानिसको ‘धरहरा केपी ओलीले बनाएको हो ? रानीपोखरी केपी ओलीले बनाएको हो ? कालीगढले बनाएको हो, मिस्रीले बनएको हो ।’ जस्ता अभिव्यक्तिले उहाँको मात्र होइन, सारा नेपाली जनताको शीर झुक्यो । देशको भूपू प्रधानमन्त्रीको अभिव्यक्ति, आक्रोश पोखाइ, कठै !! उहाँ पनि लहैलहैमा लागेर विपक्षीको सरणमा ! त्यतिमात्र होइन ७२ करोडका विषालु सर्पले पनि पुनः जागित्र भई यत्र–तत्र–सर्वत्र डस्नुसम्म डस्यो । कमसेकम अनावश्यक चलमल नगरी बसिदिएको भए यो डर लाग्दो अजिङगरले त डस्नेथिएन !

२५) आश्चर्य त केमा छ भने सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट जस्ता शालीन, प्रभावशाली र नेपाली जनताका आशलाग्दा नेताहरू भुत्ते, खिया लागेका खुर्पाजस्ता माधव नेपालका पछि कसरी र किन लागिरहनुभएको छ ! उहाँहरूलाई उहाँ (माकुने) बाट बेडा पार हुँदैन भन्ने कुरा थाहा नभएरै हो त ! कसरी थाहा भएन ! हो तित्राको मुखै बैरी डाक्टर भीम रावल जस्ता मानिस उता लागेर बरबराउनु, कुतर्क गर्नु, अहङ्कार ओकल्नु अस्वाभाविक होइन । धन्यवाद