इटहरी । हिजो नेपाली लोक गीतबाट ख्याती कमाएका प्रकाश सपुतले ‘पीर’ नामक गीत सार्वजनीक गरे । यो गीतले अहिले उनलाई धेरैले वास्तवीकतामा आधारित रहेर चलचित्र झैँ प्रस्तुत गरेको भन्दै तारिफ गरेका छन् ।
केहि ले चाहिँ यो गीतमा अनावश्यक विषयवस्तु राखेको भन्दै विरोध गरिरहेका छन् । प्रकाश सपुतको यो गीत सार्वजनीक भएको २४ घण्टा बितिसकेको छ । अहिलेसम्म यो गीतले १४ लाख बढी भ्यूज पाएको छ । २०५२ सालको १० वर्षे लामो जनयुद्धको एक कहालिलाग्दो कथावस्तुको सेरोफेरो झल्काएको यो गीतमा उनै सपुत र सुरक्षा पन्त मुख्य भूमिकामा देखिएका छन् ।
जनयुद्धताका टाठाबाठा अहिले देशको शासन सत्तामा पुगेको तर त्यहि जनयुद्धमा ज्यानको बाजी थाप्नेहरुको अवस्था भने कष्टकर रहेको यो गीतको भिडियोमा देखाइएको छ । झण्डै साढे १६ मिनेट लामो यो गीतको भिडियोमा जनयुद्धमा माओवादी योद्धा रहेकी एक महिला विदेशीएको, त्यहाँ गएर यौन शोषणमा परेको र स्वदेश फर्कन विलौना गरेको देखाइएको छ । अर्कोतर्फ अर्की एक पुर्व महिला लडाकु नेपालमै देहव्यापारमा लागेको देखाइएको छ । यहि विषयलाई लिएर माओवादी केन्द्र निकटका नेताहरुले आपती जनाएका छन् । उनिहरुले यो गीत युटुबबाट हटाउन धम्किसमेत दिएका छन् ।
नेकपा माओवादी केन्द निकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेर युटुबबाट तत्काल हटाउन चतावनी दिएकी छिन् । यति मात्रै होइन, उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने धम्किपूर्ण भाषा प्रयोग गरेकी छिन् ।
उनले फेसबुकमा लेखेको स्टाटस हेर्दा गीतले पञ्चालाई ठूलै आपत्ती परेको देखिन्छ । उनकाअनुसार भिडियोमा देखाए जस्तो सहिद, बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन । बरु त्यसका लागि पार्टीले पहल गरिरहेको जस्तो आशय उनको स्टाटसबाट झल्किन्छ ।
उनले स्टाटसमा लेखेकी छिन्, ‘सहिद परिवार बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन । कतिपय प्रयत्न हरू सफल हुन सकेका छैनन् । व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जी ले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो ।’
पीर गीत महिलामाथि अपमान हुने गरी बनाइएको उनको आरोप छ । माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति जनाएका छन् ।
तर, १० वर्षे जनयुद्धमा नेतृत्व तहमा नै रहेर भूमिका खेलका बाबुराम भट्टराई भने यो गीत पञ्चा सिंहले भने जस्तो आपत्तिजनक नभएर यार्थाथ परक भएको बताउँछन् । गीतमा अपूर्ण क्रान्तिका पीडाहरु यार्थात चित्रण गरिएको उनको भनाइ छ ।
आइतबार एक ट्वीट भट्टराईले लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मानुपर्ने कुरा नै छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसको निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडी बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’
उनले गीतको विषयमा सर्जकलाई नधम्काउन अनुरोध गरेका छन् ।