काठमाडौँ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन शुरू गरेर यी देवीदेवताको पूजा आराधना शुरू गर्दै छन् ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरू हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ ।
बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी बर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।
शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट भक्तजन आउने गरेका छन् ।