पेट्रोल छर्केर बुहारीको हत्या, सासू र नन्द पक्राउ

न्युजलय ८ पुस २०८२, मङ्गलबार ०७:५२ मा प्रकाशित

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा पेट्रोल छर्केर आगो लगाएर बुहारीको हत्या आरोपमा प्रहरीले सासू र नन्दलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार आइतबार ३२ वर्षीया सुशीला घिसिङको मृत्यु भएको थियो ।  

बुहारीको हत्या गरेको आशंकामा ५९ वर्षीया मायारानी बमजन र उनकी छोरी ३५ वर्षीया मिना बमजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।  

मृतकको माइती पक्षले सासू र नन्दसँगै ६५ वर्षीय ससुरा दुर्गामान बमजनविरुद्ध समेत किटानी जाहेरी दर्ता गराएका छन् ।

आगलागीका क्रममा दुर्गामान बमजन पनि घाइते भएका छन् । मृतक सुशीलाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेको बताइएको छ । 

प्रहरीका अनुसार परिवारभित्र लामो समयदेखि घरेलु विवाद चल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आइतबार सुशीलाको शव पेट्रोल प्रयोग गरी आगो लगाइएको अवस्थामा फेला परेको थियो । घटनास्थलबाट पेट्रोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ । पक्राउ परेका सासू र नन्दलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।