सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

न्युजलय १८ असार २०८०, सोमबार ०६:४८ मा प्रकाशित

काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।

सिंगापुरको इनिङ्स कमजोर बनाउन नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कृतिक कामतले सर्बाधिक ३ विकेट लिए । 

सिंगापुरका ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि आएका रहील थाक्करले अर्का ओपनर रोशन रविचन्द्रनसंग मिलेर ४३ रनको साझेदारी गरे । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

नेपालले अब फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ । अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।