मौलिकता हराएको भड्किलो तीज

गोपाल तिम्सिना २४ भदौ २०८०, आइतबार ०५:४९ मा प्रकाशित

भनिन्छ, भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखि पुजा गरेकि  थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म विवाहित हिन्दु नारीहरूले पनि आफ्नो श्रीमानको दिर्घायुको कामना सहित व्रत बस्ने गर्दछन भने अविवाहित चेलीहरुले राम्रो श्रीमान पाउँ भनी व्रत बसी यो पर्व मनाउँदै आएका छन् ।

आज भन्दा १५–२० बर्ष पहिलेसम्म हामी सानो छँदा तिजको बेलामा गाउँघरमा वरपरका सबै महिला दिदीबहिनी एकै स्थानमा भेलाभएर तथा टाढा पराइ घर गएका चेली हरुलाइ माइतीले आफै लिन गएर आफ्नो हैसियत अनुसारको परिकार बनाएर चेलिबेटी खुवाउने र घरका आमा दिदिबहिनि भाउजु नन्द बुहारी सबै मिलेर भाका मिलाएर दुख सुख बाड्दै तिज मनाउने गरिन्थ्यो ।


माइतिले दिएको चुरा धागो कपडा लागाएर आगनमा रातो सारी लगाएर ढल्कि ढल्कि नाच्ने र एक दिन भए पनि घरको चिन्ता नलिकन खुसीले रमाउँदै आपसी सद्भाव साटेर मनाउने चाडलाइ तिज भन्निथ्यो । तर अहिले तिजको परिभाषा फेरिएको छ । आजभोलि आफ्नै मौलिक स्वभाव बिर्सेर आयातित सस्कारको अनुकरणमा सुख खोज्ने कार्यहरू भइरहेको छ । जसले गर्दा परापुर्व कालदेखि मान्दै आएका धर्म संस्कृती चालचलन, रितिरिवाज लोप हुँदै गइरहेको स्पष्ट देख्न सकिन्छ । जस्को प्रतिफलस्वरुप तिजमा पनि उच्छृङ्खलता, तडकभडक र देखासिकीपन बढ्दै गएको छ।


तिज नेपाली महिलाको महत्त्वपूर्ण चाड हो । यसलाई हर्षोउल्लास तरिकाले मनाउन पाउनु नारीको अधिकारभित्र पर्ने कुरा हो । नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तिज पर्व मनाउने शैलीमा तडकभडक र विकृतिपन बढ्दै गएको पाइन्छ । 


महिलाले मनाउने तिजको मौलिकता हराउँदै गएको छ। परिवर्तनशिल समय र समयको माग अनुसार हरेक क्रियाकलाप र गरिने व्यबहारमा परिबर्तन हुनु स्वभाविक नै हो । तर कतिपय धर्म, संस्कृती र परम्पराहरु निभाउने क्रममा कतै अल्मलिएर आफ्नो रितिरिवाजलाई विसङ्गती र विकृतीतर्फ धकेल्नुलाई धर्म र संस्कृतीको जगेर्ना गर्न नसकेको भनेर बुझ्न सकिन्छ ।


पहिले पहिले तीजमा नारी वर्गका अन्तरहृदय भएका वेदनाहरु प्रस्फुटन हुने गर्दथे । जहाँ वास्तविक उत्पीडनमा परेका कथाहरु सुन्न पाइन्थ्यो । कोमल हृदय हुनेहरूका आँखासमेत रसाउँथे । वर्ष दिनमा एक पटक आउने विशेष गरि महिलाहरुको महत्त्वपूर्ण पर्व तिज र महिला एक अर्काका पर्यायवाची जस्तै भएकै कारण होला दुई दिन मनाउने तिजलाई हाल आएर महिनौँ अगाडीदेखि मनाउन थालिएको छ । 


सुरूमा सम्पन्न परिवारका महिलाले पैसा उठाउँदै पार्टी प्यालेसमा तिजको दर खाने खुवाउने चलन चलाए तर अहिले त्यो परम्परा जस्तै भएको छ । अहिले एक महिना अगाडीदेखि पार्टी प्यालेसमा तिजको दर खाने र खुवाउनेको भिडभाड हुने गरेको पाइन्छ । विभिन्न संघसस्था, समूह, छरछिमेकी आदि नामका थुप्रै यस्ता समूहले महिलालाई दर खुवाउने गरेका छन् त्यो पनि महिनौ अगाडिदेखि । तीज संस्कृतिको निरन्तरता र धार्मिक विश्वास मात्र रहेन सामाजिक बिकृतिको रुपमा बढ्दै गएको छ। यो क्रम अझै निरन्तर बढ्दो छ ।

तिजलाई कतिपय दिदिबहिनिहरुले आफुसंग भएका गरगहना देखाउने पर्वका रुपमा पनि लिने गरेको जस्तो देखिन्छ । जस्ले गर्दा मध्यम र न्युन आय भएकाहरुका लागी यो तिज निल्नु न ओकेल्नु भएको छ । जस्ले गर्दा कतिपय दिदिबहिनीहरुका लागी पहिले पहिले तिज कहिले आउला र माइत गएर रमाइलो गरौंला, आफ्ना मनका बेदना गित मार्फत पोखौंला भन्ने हुन्थ्यो तर अहिले आएर यो पर्व नआए पनि हुन्थ्यो भन्ने जस्तो पनि भएको छ । गाईजात्रामा हास्यकलाकारहरुले व्यंग गर्ने गरेका बिषय बस्तु अहिले तिजमै देख्न सुन्न पाइन्छ । 

तिजमा दर ठाउँ अनुसार विभिन्न मिठा मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । अघिल्लो दिन मध्यरात १२ बजेअघि दर खाने चलन हराइसकेको छ ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै सार्वजनिक रूपमा खुसी प्रकट गर्ने र साटासाट गर्ने प्रचलन बढेको छ। जसको परिणामस्वरूप अप्रत्यक्ष रूपमा देखावटीले पनि बढावा पाएको छ। जन्मदिन मनाएर केक काटेको देखि लिएर कुनै पर्व विशेषको अवसरमा विशेष परिकार खाएको, कुनै उत्सव मनाएको, कतै घुमेडुलेको लगायतका गतिविधिका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नैपर्नेजस्तो मानसिकता हामीमा बढ्दै गएको छ। जसले हरेक अवसरमा उत्सव गर्नैपर्ने र त्यसो गरेपछि अरूलाई देखाउनैपर्ने एकप्रकारको होडबाजी सिर्जना गरेको छ भने यस्ता उत्सव गर्न र देखाउन नसक्नेहरूमा अलिकति लघुताभास पनि गराएको पाइन्छ। अरूलाई देखाउनैपर्ने मानसिकता र हुललाई पछ्याउने बानी आदि समाजमा देखावटीले जरा गाड्ने मूल कारणहरू बनेका छन् ।

दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन हराउदै जादा नयाँ पिँढीका धेरै जसो महिला पनि चिन्तित छन् । तिज गितमा मौलिकता खोज्नेहरूलाई यसले निराश बनाएको छ। तिजमा महिला आफूलाई अरु सामु राम्रो देखाउन चाहिने भन्दा धेरै खर्च गर्ने गरेको पनि पाइन्छ । तर तिजलाई संस्कृति सँग जोड्न अरुको देखासिसि गर्नु हुँदैन ।