घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नदी तथा खोलाबाट नदीजन्य निर्माण सामग्री उत्खनन नगर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै ढुङ्गा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) मापदण्ड २०७९ को दफा ६ को उपदफा (१६) अनुसार उत्खनन कार्य गर्न नपाइने जनाएको हो।
सूचनामा असार १ गते देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन निषेध गरिएकाले गाउँपालिका क्षेत्रभित्र उक्त कार्य बन्द गर्न साथै खोलाबाट अनाधिकृत रूपमा ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य सामग्री उत्खनन तथा ओसारपसार गर्न नपाइने उल्लेख गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाद्वारा जारी सूचनामा निर्धारित समय अवधिभर नदी तथा खोलाबाट निर्माण सामग्री उत्खनन, संकलन वा थुपार्ने कार्य गरेमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ।
नदीजन्य स्रोतको अनियन्त्रित दोहन रोक्न, वातावरणीय सन्तुलन कायम राख्न तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासी तथा निर्माण व्यवसायीलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गर्दै गाउँपालिकाले नदी तथा खोलाको प्राकृतिक स्वरूप जोगाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।