जीवन विकासले १४ प्रतिशत बोनस शेयर दिने

न्युजलय २ माघ २०८०, मङ्गलबार ०४:०५ मा प्रकाशित

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ । आइतबार संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । 

जीवन विकासको चुक्ता पूजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँको १४ प्रतिशत अर्थात १६ करोड ५४ लाख ८४ लाख सात सय बराबरको बोनस शेयर वितरण गर्नेछ । यस्तै थप ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश बाँड्नेछ । बोनस वितरण पछि संस्थाको चुक्ता पूँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुगेको छ ।

साधारणसभाले अन्य लघुवित्त संस्थासँगको मर्जर र प्राप्तीका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालन समितिलाई अधिकार दिने निर्णय पनि गरेको छ । 

आइतबार लघुवित्तको साधारणसभा उद्घाटन गर्दै सांसद योगेन्द्र मण्डलले लघुवित्तलाई बचाउनुपर्ने अवस्था आएको बताएका छन् । पछिल्लो समयमा लघुवित्तको विरुद्ध विभिन्न अभियान चलिरहेको बताउँदै उनले यस्तो समयमा सदस्य केन्द्रीत सेवा प्रदान गरेर लघुवित्तलाई जोगाउनु पर्ने बताए । 

जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले आर्थिक मन्दी र समुदायमा बैंक तथा वित्तीय संस्थाहरु विरुद्धको गतिविधिले गर्दा गत वर्ष चुनौतिपूर्ण रुपमा बितेको बताए ।

राष्ट्र बैंकको एक व्यक्ति एक बैंकको नीतिको कारण वित्तीय संस्थाहरुले आवश्यकता अनुसार ऋण लगानी गर्न नसकेको बताउँदै उनले बैंकको किस्ता तिर्नु हुँदैन भन्ने केही व्यक्तीको असोभनिय अभिव्यक्तिका कारण संस्थालाई असर पुगेको बताए । 

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलका अनुसार २४ जिल्लामा फैलिएको लघुवित्तमा ३ लाख ४ हजार सक्रिय सदस्य छन् । ती सदस्यको १० अर्ब ३ करोड १८ लाख निक्षेप लघुवित्तमा छ । २२ अर्ब ३७ करोड १७ लाख कर्जा प्रवाह गरेको लघुवित्तले आर्थिक वर्ष २०७९÷८० मा ३४ करोड २० लाख खुद मुनाफा गरेको उनले जानकारी दिए ।