विराटनगर । कोशी प्रदेशमा साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु भएको छ ।
परियोजनाअन्तर्गत प्रदेश सरकार जमानी बसेर नवउद्यमीलाई बिना धितो ३० लाखदेखि ३ करोडसम्मको कर्जा उपलब्ध गराइनेछ । जसले प्रदेशमा नयाँ रोजगारीको अवसर सिर्जना गर्ने विश्वास छ ।
परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि तयार भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरेको प्रदेश सरकारले जनाएको छ ।
परियोजनालाई प्रदेश सरकारले प्रदेशका १४ वटा जिल्लामा पुर्याउने लक्ष्य राखेको छ । पहिलो चरणमा चार वर्षसम्म सञ्चालन हुने यो परियोजनाबाट कोशी प्रदेशमा ३ हजार रोजगारी सिर्जना हुने बताइएको छ ।