इटहरी । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता भूपेन्द्र राईलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहले मन्त्रीको नाम नपठाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको भागमा रहेको मन्त्रालय भूपेन्द्रलाई जिम्मा दिएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री रहेका राईलाई बिहीबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
राईले अब प्रदेशको भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । मुख्यमन्त्री कार्कीले भने,‘ अब सरकारले पूर्णता पायो ।’
गत असार तेस्रो साता कांग्रेस र नेकपा (एमाले)को नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री तथा २ राज्यमन्त्री पाउने सहमति भएको थियो ।
पछिल्लोपटक कोशीमा गत भदौ २८ गते मन्त्रिपरिषद् विस्तार भएको थियो । डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि मुख्यमन्त्री कार्कीले सम्हाल्दै आएको मन्त्रालय कांग्रेसलाई नै जिम्मेवारी दिइएको हो ।