काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ ।
दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा चार विकेट गुमाएर दुई सय ११ रन बनाउँदै लक्ष्य पार गरेको थियो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय सात रन बनाएको थियो । नेपालको प्रतिस्पर्धात्मक जितमा तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले महत्त्वपूर्ण योगदान गरे । उनले अविजित ७७ रन बनाए । लामो समय क्रिजमा टिकेका भीमले एक सय १४ बलको सामना गरी एक छक्का र सात चौका प्रहार गरे ।
त्यसअघि अमेरिकाका लागि सातौँ नम्बरका क्रिज समाल्न आएका सायान जहांगिरले शतकीय पाली खेले । उनले अविजित एक सय रनको योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान जहांगिरले आक्रामक पाली खेल्दै ७९ बलको सामना गरी तीन छक्का र १० चौका पनि प्रहार गरे ।
नेपाल र अमेरिका दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाब्वेले आठ विकेटले हराएको थियो । अमेरिकालाई भने पहिलो खेलमा बलियो वेस्ट इन्डिजले ३९ रनले हराएको थियो ।
समूह ‘ए’ मा रहेको नेपालले आफ्नो तेस्रो खेल जुन २२ तारिखमा वेस्ट इन्डिजसँग खेल्नेछ । नेपालले चौथो तथा अन्तिम खेल भने जुन २४ तारिखमा नेदरल्यान्ड्सँग खेल्नेछ । छनोट प्रतियोगिताको समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।
पहिलो चरणको खेलपछि दुवै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुवै समूहको चौथो र पाँचौँ स्थानमा रहने टोलीले प्लेअफ चरणको खेल खेल्नेछन् । यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् । यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरीयतासमेत निर्धारण गर्नेछ ।