सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले माघ १३ गतेदेखि हिसान स्पोर्टस् मिट २०८१ सुरु गर्ने भएको छ । आइतबार हिसान सुनसरीले इटहरीमा गरेको पत्रकार सम्मेलनमा ११ औँ संस्करणको स्पोर्ट्स मिट एक सातासम्म हुने जानकारी दिइएको छ ।
स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए । विगत दुई वर्षदेखि सुरु गरिएको हिसान इटहरी रन यो वर्षपनि गरिनेछ । इटहरीमा हुने हिसान रनमा यस पटक पब्लिक क्याटगोरीअन्तर्गत जो कोहीले पनि भाग लिन पाउने भएका छन् । ५ किलोमिटरबाट बढाएर यस वर्ष ८ किलोमिटरको दौड प्रतियोगिता गरिने कार्यक्रम संयोजक सुभाष लुइँटेलले जानकारी दिए ।
स्पोर्टस मिटअन्तर्गतको फुटबल इटहरीको ताल तलैयास्थित बुढासुब्बा खेलमैदानमा हुनेछ भने क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा गरिनेछ । भलिबल पूर्वाञ्चल मावि तरहरा इटहरीमा, बास्केटबल धरानस्थित सियोन स्कुलको कोर्टमा र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रङ्गशालामा खेलाइने हिसान सुनसरीले जनाएको छ ।
माघ १९ गते धरान आदर्श सेकेण्डरी स्कुलमा नृत्य प्रतियोगिताको गर्दै स्पोर्टस मिट समापन गरिने छ । सुनसरी जिल्लाभरिका ८ सय विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने खेल उत्सवमा १५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने बताइएको छ ।