नयाँ दिल्ली । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका लागि जिम्मेवार ठहरिएका भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न आग्रह गरेको छ ।
डब्लुएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेका यी उत्पादनहरू ‘गुणस्तरहीन’ भएको र कम्पनीले उनीहरूको ‘सुरक्षा र गुणस्तर’ को बारेमा सुनिश्चितता प्रदान गर्न असफल भएको बताएको छ ।
कम्पनीले बनाएको ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा कम्तीमा २० बालबालिकाको मृत्यु भएको उज्बेकिस्तानका अधिकारीहरूले गत महिना बताएपछि भएको अनुसन्धानपछि बुधबार यो चेतावनी जारी गरिएको हो ।
त्यसपछि भारतको स्वास्थ्य मन्त्रालयले उक्त कम्पनीको उत्पादन रोकेको थियो भने उज्बेकिस्तानले ‘डक–१ म्याक्स’को आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।
‘डाइथिलीन ग्लाइकोल’ र ‘इथिलीन ग्लाइकोल’ मानव स्वास्थ्यका लागि विषाक्त मानिन्छन् र यो प्राणघातक साबित हुन सक्छ ।
मेरियन बायोटेकका अधिकारीहरूसँग यसबारे प्रतिक्रियाका लागि एएफपीले प्रयास गरेको तर तत्काल सम्पर्क हुन सकेन ।
गत अक्टोबरमा डब्लुएचओले गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को फर्मको औषधिलाई जोडेपछि नियामकहरूको अनुसन्धानको सामना गर्ने यो दोस्रो भारतीय औषधि निर्माता कम्पनी हो ।
मेडन फर्मास्युटिकल्सले विषाक्त खोकी र रुघाखोकीको औषधि उत्पादन गरेको आरोप लागेको थियो जसका कारण अफ्रिकी देशमा कम्तीमा ६६ जना बालबालिकाको मृत्यु भएको थियो । औषधि सेवन गरेका पाँच महिनादेखि चार वर्षसम्मका ती बालबालिकाको मृगौला फेल भएर मृत्यु भएको हो ।
भारतले मेडेन फर्मास्युटिकल्समाथि अनुसन्धान सुरु गरेको तर अनुसन्धानले औषधिहरू ‘गुणस्तरीय’ भएको बताएको थियो ।