काठमाडौं । भारतको उत्तर प्रदेशस्थित फर्रुखाबाद जिल्ला कारागारमा कैदीको मृत्यु भएपछि आगजनी गरिएको छ।
समाचार एजेन्सी पीटीआईले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै कैदीको मृत्युपछि अन्य कैदीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गा हानेको र जेलमा आगजनी गरेको बताए।
उक्त घटनामा करिब ३० प्रहरी र ६ कैदी घाइते भएका छन्। सैफई मेडिकल कलेजमा उपचार गराइरहेका एक कैदीको मृत्यु भएको खबर पाएलगत्तै कैदीहरूले प्रहरीमाथि ढुंगामुढा गर्न थालेको कारागार अधिकारीले बताएका छन्।
डेंगुका कारण कैदीको मृत्यु भएको प्रहरीले जनाएको छ। कैदीहरूले त्यसको विरोधमा कारागारभित्र पनि आगो लगाएपछि दमकल बोलाइएको थियो। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
फर्रुखाबाद जिल्लाका एसपी अशोककुमार मीनाले ढुङ्गा प्रहारबाट ३० जना प्रहरी घाइते भएको तर अहिले स्थिति नियन्त्रणमा रहेको बताए। घाइतेमध्ये डेपुटी जेलर पनि रहेको उनले बताए।
यसैबीच जिल्ला अधिकारी सञ्जयकुमार सिंहले घटनाको अनुसन्धानपछि दोषीलाई कारबाही गरिने बताए।