दैनिक १४ घण्टासम्म लोडसेडिङ हुन थालेपछि मोरङ–सुनसरीका उद्योगीको चर्को विरोध

न्युजलय १६ चैत २०७८, बुधबार ०२:४० मा प्रकाशित

विराटनगर । एक सातायता दैनिक १४ घण्टासम्म ‘अघोषित’ लोडसेडिङ हुन थालेपछि मोरङ–सुनसरी औधोगिक क्षेत्रका उद्योगी व्यवसायीहरुले चर्को विरोध जनाएका छन् । लोडसेडिङका कारण ६० प्रतिशतसम्म उत्पादन कटौति गर्न थालेको उनीहरुले बताए । 


पाँच बर्ष अघि पनि औधोगिक क्षेत्रमा हुने गरेको अत्याधिक लोडसेडिङको समस्याबारे सरकार र विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदा गराउँदै थाकेका उद्योगी व्यवसायीहरु पछिल्ला दिनमा लोडसेडिङ अन्त्य भएको महसुस गर्दै उद्योग व्यवसाय ‘एक्सटेन्सन’ केन्द्रीत थिए ।


अब कहिल्यै लोडसेडिङ नहुने भन्दै आश्वस्त पारेर पुनः १४ घण्टासम्म लोडसेडिङ गरेको भन्दै उद्योगी व्यवसायीहरुले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आफुहरुलाई ढाँटेको आरोप लगाए । उनीहरुले लोडसेडिङको समस्याका बारेमा यथार्थ जानकारी समेत नपाएको र लोडसेडिङको सेड्युल समेत उपलब्ध नगराएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको आलोचना गरे ।


मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र उद्योग परिसंघ प्रदेश १ समितिले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै लोडसेडिङ अन्त्य भयो भनेर सरकारले उद्योगीहरु व्यवसायीहरुलाई गुमराहमा राखेको आरोप लगाए । बैंकको चर्को व्याजदरविरुद्ध आवाज उठाइरहेको बेलामा प्राधिकरणले अघोषित लोडसेडिङ गरेर थप आहत बनाएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुमै पुगेर चाहेजति विद्युत दिन्छौं भनेको स्मरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले ग्राहकलाई नै गुमराहमा राख्न खोजिएको आरोप लगाए । उनले भनाई र गराईमा फरक देखिएकोले सरकार र प्राधिकरणको जवाफदेहितामाथि प्रश्न उठाए ।

  

उद्योगीहरुले सरकारलाई अप्ठेरो नै परेको भए आफुहरु ‘पिक आवर’ मा उद्योग बन्द गर्न समेत तयार रहेको बताए । तर १४ घण्टासम्म अघोषित रुपमा लोडसेडिङ गरेर प्राधिकरणले उद्योगी व्यवसायीलाई समस्यामा पारेको गुनासो गरे ।