पात्लेपानी । भोजपुरको हतुवागढी गाउँपालिका ७ बाख्रेम स्थित साविक वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
श्री जन आश्रीत युवा क्लब हतुवागढी ७ द्वारा आयोजित उक्त भलिबल प्रतियोगिता सोही वडाका अध्यक्ष ध्यानकुमार राईको प्रमुख आतिथ्यतामा बुधबार उद्घाटन गरिएको हो ।
शुभकामना मन्तव्यको क्रममा बोल्दै प्रमुख अतिथी एवं हतुवागढी ७ का वडाध्यक्ष ध्यानकुमार राईले अग्रज युवाहरुले क्लबमा समावेश भएर खेलकुदको विकासको लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गर्नु उदाहरण कार्य रहेको बताए ।
युवा पुस्तामा खेलकुदको विकास गर्ने उद्देश्यले जन आश्रीत क्लबको भवनको खेलमैदानमा आयोजना गरिएको उक्त प्रतियोगितामा पुरुष तर्फ १३ समूह सहभागी रहेका छन् भने महिला तर्फको सहभागीता शून्य रहेको छ ।
साविकका पात्लेपानी, खैराङ, हसनपुर र होम्ताङ गाविसको वडाहरुबाट पुरुष तर्फ १३ समुहको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष तर्फ उपाधी विजेता समुहलाई रु. २० हजार र उपविजेतालाई रु. १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
साविक वडास्तरीय महिला र पुरुष तर्फको प्रतियोगिता आयोजना गरिएतापनि महिला समुहको सहभागीता नहुँदा महिला तर्फको प्रतियोगिता गराउन नसकिएको श्री जन आश्रीत युवा क्लबका सचीव गणेश राईले जानकारी दिए ।
भोलि सम्म सम्पर्कमा आए महिला तर्फको भलिबल प्रतियोगिता सञ्चालन गर्न सकिने क्लबका सचीव राईले बताए ।
उनले भने ‘हामीले पत्राचार गरेका हौं । खेलको उद्घाटन समय सम्म महिला तर्फ कुनै प्रतिस्पर्धी टिम सम्पर्कमा आएका छैनन्, भोलि सम्म सम्पर्कमा आए महिला तर्फको प्रतियोगिता पनि हुन्छ ।’
महिला तर्फको विजेतालाई रु. १० हजार र उपविजेता समुहलाई रु. ५ हजार नगद पुरस्कार रहेको थियो ।
विगतको वर्षमा कोरोना संक्रमणको कारण कुनै पनि खेलकुद गतिविधि सञ्चालन गर्न नसकिएको तर आगामी दिनमा खेलकुद क्षेत्रको विकासको लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने क्लबका सचीव गणेश राईले जानकारी दिए ।
उक्त भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा श्री सगरमाथा माविका शिक्षक प्रकाश बान्तावा, स्थानीय बुद्धिजीवी लगाएत खेलप्रेमी युवाहरुको उपस्थिति रहेको थियो ।