काठमाडौं । दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले नेपाली प्रमुख प्रशिक्षक अल्मुताइरीमाथि फाइनल खेलमा प्रतिबन्ध लगाएको छ । योसँगै उनले भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेलमा सहभागि हुन नपाउने भएका छन् ।
दक्षिण एसियाली फुटबल (साफ) ले तयार पारेको प्रतियोगिताको नियमावलीविपरीत नै उनीविरुद्ध अनावश्यक प्रतिबन्ध लगाएको हो । फरक खेलमा पहेंलो कार्ड पाएमा खेलाडीले अर्को खेल खेल्न नपाउने नियममा उल्लेख छ । तर, साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण देखाउँदै फाइनलमा प्रतिबन्ध गरेको हो ।
एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचारसमेत गरेको छ । तर, यस बारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन। अलमुताइरीले पनि आफूलाई साफले नियतवश निलम्बन गरेको प्रतिक्रिया दिएका छन्। साफले नियम विपरीत आफूलाई कारवाही गरेको उनले बताएका छन्।
'साफ नेपाल फाइनल पुगेकोप्रति खुशी देखिएन। उनीहरु नेपाल नजितोस् भन्ने चाहन्छन्। मैले महसुस गरेको त्यही हो,' उनले भनेका छन्।
प्रमुख प्रशिक्षक अलमुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्धको खेलका क्रममा पहेंलो कार्ड पाएका थिए । यसअघि प्रतियोगिताको यसै नियम अनुसार नेपालका स्ट्राइकर अञ्जन विष्टले पनि फाइनल खेल गुमाउने भएका छन् ।
यसैगरी भारतका प्रशिक्षक इगोर स्टिमाचले फाइनलमा प्रतिबन्ध भोगेका छन्। स्टिमाचले माल्दिभ्सविरुद्ध भएको खेलमा दुई पहेंलोसहित रातो कार्ड नै पाएका थिए। स्टिमाचसँगै अलमुताइरीलाई पनि प्रतिबन्ध गरेकाले नेपाल र भारतले मुख्य प्रशिक्षकबिना नै फाइनल खेल खेल्नुपर्ने भएको छ।