वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

न्युजलय १५ फाल्गुण २०८०, मङ्गलबार ०५:३९ मा प्रकाशित

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सोमबार निधन भएको छ ।

आचार्यको ८२ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

आचार्यले झण्डै चार सय गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।

नेपाली संगीतमा उनको विशिष्ट स्थान छ । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।

उनको पार्थिव शरीरलाई आज श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिने भएको छ ।