‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

न्युजलय २ भदौ २०८१, आइतबार ११:२४ मा प्रकाशित

काठमाडौँ  । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् ।  

नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आएकी तामाङले शनिबार आयोजित ग्राण्ड फिनालेमा  उपाधि  जितेकी हुन् ।

यो जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । 

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए । भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो ।