सुनसरी एमालेको बैठकमा द्वारिकलाल चौधरीले खोसे माइक

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०२:२१ मा प्रकाशित

इटहरी । सुनसरी एमालेमा चलिरहेको विवादले उग्र रुप लिएको छ। 

बुधबार(आज) इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बस्ने भनिएको बैठकमै एकआपसमा माइक खोसाखोस भएको छ।

जेठ २ अघिका अध्यक्ष रमेश बस्नेत र पछिल्लो पटकका अध्यक्ष रेवतीरमण भण्डारीको समूहबीच विवाद भएपछि बुधबार दुवैजनालाई व्याक गरेर पार्टी इन्चार्ज धर्म निरौलाले बैठकको अध्यक्षता गरेका थिए।

अध्यक्षता गरेर निरौलाले बोल्ने क्रममा इटहरी उपमहानगरपालिका मेयर एवम् पार्टीका पूर्व जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीले माइक खोसेका हुन्। 

अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथि नहुने भन्दै चौधरीले माइक खोसेका थिए। 

चौधरीको हातबाट पुन माइक खोस्न कार्यकर्ताहरु मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ। माइक खोसेपछि चौधरी कार्यक्रमस्थलबाट हिँडेका छन्। उनले उक्त बैठक बहिष्कार गरेको बताएका छन्। 

उनले सुनसरी एमालेको विवादलाई लिएर पत्रकार सम्मेलन तयारी गरेका छन्।