बुढाथोकीलाई १ लाख राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार

न्युजलय २० बैशाख २०८२, शनिवार ०५:०१ मा प्रकाशित

विराटनगर । पत्रकार किशोर बुढाथोकीलाई शनिबार विराटनगरमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गरेको पुरस्कारको राशि १ लाख १ सय रुपैयाँ छ । बुढाथोकी मुलुकीखबर डट कमका सम्पादक हुन् भने उनी अन्नपूर्णपोष्ट दैनिकसँगसमेत आबद्ध छन् ।


यो पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, अग्रज पत्रकार एवं सूचनाको हकका अभियन्ता गजेन्द्र बुढाथोकी, सूचनाको हकका अभियन्ताहरु काशीराज दाहाल र स्वः विनय कसजूलाई प्रदान गरिसकिएको छ।


साथै, यस वर्षको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार एवं सूचनाको हकका अभियन्ता सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ। पुरस्कारको राशि २५ हजार २५ रुपैयाँ रहेको छ।


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कार हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्की र मेयर कोइरालाले सूचनाको हकको प्रवर्धन र प्रभावकारी कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको बताए।


महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण एवं अग्रज पत्रकार सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्वअध्यक्षहरु विक्रम लुइँटेल, लीलाबल्लभ घिमिरे, पत्रकार महासंघका प्रदेश अध्यक्ष भरत खड्का, महासंघका केन्द्रीय सदस्य कमल रिमाललगायतले मन्तव्य राखेका थिए।


पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएको थियो।