एक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस, २२ वटा शव भेटिए

न्युजलय ४ साउन २०८१, शुक्रबार ०१:५३ मा प्रकाशित

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस बेपत्ता भएको शुक्रबार (आज) एक हप्ता पुगेको छ।

अघिल्लो शुक्रबार बिहान वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा सँगै भएका बेला पहिरोले बगाउँदा त्रिशूली नदीमा खसी बेपत्ता छन्। 

दुवै बसमा गरी ६५ यात्रु थिए। तीमध्ये ३ जनाले तत्काल पौडिएर ज्यान जोगाए पनि बाँकी यात्रु बेपत्ता भएका थिए। नदीमा बेपत्तामध्ये हालसम्म २२ जनाको शव फेला परेको छ। 

बससँगै त्रिशूली नदीमा बगेका यात्रुका शव नारायण नदी हुँदै भारतसम्म पनि पुगेको पाइएको छ। 

आज बिहान नवलपरासीस्थति नारायणी नदीमा थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानाएको छ। योसँगै मृत फेला पर्ने यात्रुको संख्या २२ पुगेको हो। 

तीमध्ये १४ जनाको सनाखत भएको छ भने ८ जनाको सनाखत हुन सकेको छैन। अब अझै ४० जनाको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

खोजी जारी छ। खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, गोताखोर गरी ५ सय जना सोनार क्यामेरासहति निरन्तर खटिरहेका छन्।