काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।
नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे बायुमास ओभलमा सुरु हुनेछ । खेल ३५ ओभरको हुनेछ ।
समूह ए बाटै नेपाल र मलेसिया दुई टोली फाइनलमा पुगेका हुन् । समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
अर्कोतर्फ घरेलु टोली मलेसियाले सेमिफाइनलमा समूह बी को विजेता हङकङलाई ७८ रनले हराएर नेपालसँगको भेट पक्का गर्यो ।
समूह चरणमा नेपालले मलेसियामाथि ८४ रनको फराकिलो जित निकालेको थियो ।
नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित छ भने मलेसिया नेपालसँग मात्र पराजित भएको थियो ।
नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा हराएर उपाधि जितेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो ।