इटहरीको जनता माविले जित्यो ११ औं युनाईटेड गोर्खा एकडेमी कप, छात्रातर्फ धरान आदर्श विजयी

न्युजलय २७ माघ २०८१, आइतबार ०१:३३ मा प्रकाशित

धरान । ११ औं संस्करणको युनाईटेड गोर्खा एकडेमी कप २०८१ को छात्रतर्फको उपाधि इटहरीको जनता माविले जितेको छ । जनता मावि यो प्रतिष्पर्धामा पहिलो पटक सहभागि भएको हो । 


शनिबार धरान – १५ स्थित युनाईटेड गोर्खा एकडेमी परिसरमा भएको जिल्ला स्तरीय अन्तर स्कुल छात्रा छात्र भलिबल प्रतियोगिताको फाईनल खेल भएको हो । जसअन्तर्गत छात्रतर्फ बालविकास पकलीलाई ३–१ को सेटमा पराजित गर्दै जनता मावि इटहरीले उपाधि हात पारेको हो । उता छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरालाई ३–२ सेटमा पराजित गर्दै धरान आदर्र्शले उपाधि जित्यो ।

 

विजेताले नगद २५ हजार पाएका छन् भने उपविजेताले नगद २० हजार पाएका छन् । तेस्रो हुने डिपोट स्कुल धरान र पूर्वाञ्चल स्कुल तरहराले जनही १५ हजार रुपैया पाए । 


खेलको म्यान अफ द म्याच छात्रतर्फ जनता स्कुलका कमल श्रेष्ठ र छात्रातर्फ धरान आदर्शकी प्रतिक्षा जोशी घोषित भए । उनीहरुले नगद १२ सयसहित मेडेल प्राप्त गरे ।


व्यक्तिगत विधातर्फ छात्रा छात्र वेष्ट सर्भिस प्रजिता कार्की र लभ चौधरी, वेष्ट डिफेन्स दिक्षा कार्की र सत्यम लिम्बु ,बेष्ट सेटर प्रियङका मगर र सबिन राई, वेष्ट स्पाईकर प्रतिक्षा जोशी र समिर गिरी, वेष्ट प्लेयर रमा श्रेष्ठ र कमल श्रेष्ठ, राईजिङ प्लेयर जेनिशा खनाल र बक हाङ राई भएका थिए । उनीहरुले नगद १२ सय सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका थिए ।


प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका थिए । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्रा टिम सहभागि थियो ।