स्थायी शिक्षकको लागि परिक्षा खोल्ने तयारीमा शिक्षा सेवा आयोग

न्युजलय ३१ असोज २०७८, आइतबार ०८:४० मा प्रकाशित

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको तथ्यांक सार्वजनिक भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस्तो तथ्यांक सार्वजनिक गर्दै शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षकको दरबन्दी रिक्त छ ।

दुई वर्षअघि दरबन्दी मिलान सुझाव कार्यदलले सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक दरबन्दी अपुग रहेको र सबैभन्दा बढी अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । 

माध्यमिक तहमा १ हजार ५ सय ४७, निम्न माध्यमिक तहमा २ हजार ५ सय ९५ र प्राथमिक तहमा १३ हजार ८५ स्थायी शिक्षकको दरबन्दी खाली रहेको आयोगले जनाएको छ । साथै उसले रिक्त दरबन्दी पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी भइरहेको जनाएको छ । 

असार मसान्तसम्म करिब साढे १५ हजार दरबन्दी रिक्त रहेको अनुमान गरिएको थियो । केन्द्रले चैत मसान्तसम्म अनिवार्य अवकाश हुनेसहित रिक्त हुने शिक्षकको दरबन्दी विवरण आयोगमा पठाएको हो । त्यसमा ३ हजार ३ सय ९१ शिक्षकको बढुवा प्रक्रियामा रहेको उल्लेख छ ।

७ लाखभन्दा बढी विद्यार्थी लाइसेन्स लिएर बसेकाले पहिले स्थायी शिक्षकको विज्ञापन गर्ने आयोगले जनाएको छ । लाइसेन्स परीक्षा पास गरेमात्र स्थायी शिक्षकको परीक्षामा प्रतिस्पर्धा गर्न पाइन्छ । 

आर्थिक वर्ष २०७४/०७५ देखि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन भएको छैन । त्यतिबेला प्राथमिक तहमा ९ हजार ९ सय ५६, निम्न माध्यमिक तहमा १ हजार ५ सय ७४ र माध्यमिक तहमा १ हजार ९७ जना शिक्षक आयोग परीक्षा उत्तीर्ण गरेर स्थायी भएका थिए ।