एजेन्सी । ट्वीटरले ब्लू सब्सक्रिप्सनका लागि मासिक ११ डलर शुल्क तोकेको छ । साथै आइओएस एप तथा डेस्कटप भर्सनका प्रयोगकर्ताका लागि मात्र सुरु गरेको उक्त फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत उपलब्ध गराएको छ ।
आइओएस प्रयोगकर्ताका लागि यसअघि राखेको ८ डलर मासिक शुल्कलाई समेत बढाएर ११ डलर नै कायम गरेको छ । वेब भर्सनमा ट्वीटर प्रयोग गर्नेका लागि भने ८ डलर प्रतिमहिना नै कायम गरिएको छ ।
हाल ट्वीटरको ब्लू सब्सक्रिप्सन फिचर अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्याण्ड र जापानमा मात्र सुरु गरिएको छ ।
ट्वीटर ब्लू सब्सक्रिप्सनसँगै प्रयोगकर्तालाई निलो चेकमार्क अर्थात् टिक उपलब्ध गराइनेछ । साथै ब्लू सब्सक्रिप्सन गरेका प्रयोगकर्ताका लागि आफ्नो ट्वीट सम्पादन गर्ने, १०८० पिक्सेलको भिडियो अपलोड गर्ने तथा रिडर मोडमा लैजाने लगायतका सुविधा प्राप्त हुनेछन् ।
साथै ब्लू टिक खरीद गरेका प्रयोगकर्ताले ट्वीटरमा अन्य आम प्रयोगकर्ताको तुलनामा कम विज्ञापन हेर्नुपर्नेछ । भेरिफाइड ट्वीटर प्रयोगकर्ताको ट्वीटमा रिप्लाई तथा ट्वीटमा समेत प्राथमिकता मिल्नेछ ।