विराटनगर । विराटनगर महानगरपालिकामा एक युवकले आफ्नै पत्नीको हत्या गरी शव लुकाएको घटना सार्वजनिक भएको छ।
विराटनगर–१५ हर्ताली हाटका रोशन साहले आफ्नी ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ। घटनापछि उनले अपराध लुकाउन योजनाबद्ध रूपमा शव व्यवस्थापन गरेको खुलेको छ।
प्रहरीका अनुसार हत्या पश्चात् रोशनले पत्नीको हातखुट्टा बाँधेर तन्नाले बेरी विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकको कल्भर्टमुनि पानीभित्र फालेका थिए।
घटनाको खुलासा भने चार दिनपछि भयो। स्थानीयले पानीभित्र शंकास्पद अवस्थामा शव देखेपछि वडाध्यक्ष समीर कमर मियाँले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो।
शव सडेको अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो। हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दा मृतक कोमलकुमारी साह रहेको पुष्टि भएको हो।
प्रहरीका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन्। रोशनले नै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा पत्नी हराएको भन्दै निवेदन दिएका थिए। तर अनुसन्धानक्रममा उनले नै हत्या गरेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार उनले घाँटी थिचेर हत्या गरेको खुलेको छ। त्यसपछि प्रमाण लुकाउन शवलाई पानीमा फालेको प्रहरीको भनाइ छ।
प्रहरीले रोशन साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले अपराध स्वीकार गरिसकेको जनाएको छ। हाल उनी हिरासतमा रहेका छन् र उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।
घटनास्थलबाट शव उठाएर कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। रिपोर्टपछि थप विवरण सार्वजनिक हुने बताइएको छ।