लघुकथा : स्वीच अफ मोबाईल

न्युजलय ३० बैशाख २०७९, शुक्रबार ०७:४९ मा प्रकाशित

‘तपाईंले मोबाइल घरमै छोडेर जानुभएछ नि, आज दिनभरि त्यसैको पिरलोमा छु, तर कसैलाई पनि भनेकी छुइन।’ दिक्क मान्दै भनिन् हजुरामाले ।


दिनभरिको चुनाबी प्रचार प्रसारबाट लखतरान भएर आइपुगेका हजुरबा एकछिन तनाबमा परे। अनि, हजुरामालाई फकाउँदै भने, ‘जो छ अब कसैलाई नभनेस । लोग्ने मरेर माइत बसेकी भनेर चमेलीको सारै माया लाग्यो। राम्रै मनले जो छ, च्याटिङ गरियो। आज भन्दै भोलि भन्दै जो छ, ख्याल ठट्टामै अनेक थोक लेखियो। गाउँ समाजले थाहा पायो भने जो छ, यो बुढेस कालमा कसरी मुख देखाउनु१ राजनिती क्यारियर मा नि दाग लाग्छ । यो पल्टलाई क्षमा गरिदे जो छ। फेरि देखि त किन एस्तो गल्ती गर्दो हुँ।’


नातिले भन्यो, ‘हजुरामाले लुगा धुने हुँदा मेरो क्याल्कुलेटर पनि मजाले धुनुभएछ ।’


हजुरबाले आफूले लगाइराखेको ईस्टकोटको खल्ती छामे। स्वीच अफ मोबाईल खल्तीमै थियो।


- पर्शुराम घिमिरे