काठमाडौँ । बेल्जियमको मोल सहरबाट आफैले गाडी चलाएर आइरहेका पर्वत जलजला ६ का वीर फगामी मगरलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।
जापानी खानाको व्यवसाय गर्दै आएका फगामी आफूले चलाएका रेस्टुराँहरूमा काम गर्ने कामदारहरू लिन भ्यान लिएर आन्त्वर्पेन जाँदै थिए।
घटना बिहीबार दिउँसो १ बजे तिरको हो। प्रहरीका अनुसार फगामीको भ्यान ठूलो ट्रकको पछि छिर्यो र पछाडिबाट आएको अर्को ट्रकले हिर्काउँदा नराम्रोसँग क्षतविक्षत भयो।
श्रीमतीसँग मिलेर व्यवसाय गर्दै आएका फगामीका १२ वर्षकी छोरी र दुई छोरा छन्। स्थानीय शव गृहमा उनको शव राखिएको छ।
बेल्जियमको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।