क्यानडामा दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु

न्युजलय २ असार २०८३, मङ्गलबार ०३:०८ मा प्रकाशित

काठमाडौँ । क्यानडा पुगेका भोजपुरकी लाक्पा याञ्जी शेर्पा र कास्कीका राजीव श्रेष्ठको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

मध्यक्यानडाको ओन्टारियो सहरमा भएको दुर्घटनामा उनीहरू सवार एसयुभी गाडीमा आगलागी हुँदा घटनास्थलमै दुवै जनाको मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अनुसार लाक्पा २२ वर्षकी थिइन्। उनी टोरन्टोस्थित फ्लेमिङ कलेजबाट नर्सिङ अध्ययन पूरा गरेकी थिइन्। राजीव श्रेष्ठले भने टोरन्टोको महक कलेजमा आइटी अध्ययन गरिरहेका थिए।

जुन ९ र १० मा फ्लेमिङ कलेजमा दीक्षान्त समारोह सम्पन्न भएको थियो। समारोहमा सहभागी भएर घर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्। दुर्घटनापछि गाडीमा आगो लागेको ओन्टारियो प्रदेश प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ।