इटहरीमा बाढीबाट मृत्यु भएकाको परिवारलाई २५ हजार, विस्थापितलाई तत्काल राहत

सरिता शर्मा ४ कार्तिक २०७८, बिहिबार ०२:०५ मा प्रकाशित

इटहरी । अहिलेसम्मकै ठूलो बाढी आएको इटहरीमा बाढीबाट मृत्यु हुनेको परिवारलाई तत्काललाई २५ हजार रुपैया दिने निर्णय कार्यपालिकाको बैठकले गरेको छ । 

बुधबार बसेको बैठकले शिक्षक, कर्मचारी र जनप्रतिनिधिले ७ दिनको तलब विपत राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यस्तै पीडितको लागि लत्ताकपडा र खानाको मेस चलाउने गरी सबै वडालाई १–१ लाख रुपैया पेस्की दिने निर्णय गरिएको छ । यस्तै भत्केका बाटोघाटो तत्काल मर्मत गर्नेसमेत निर्णय गरिएको छ ।

बैठकमा मेयर द्वारिकलाल चौधरीले १ महिनाको तलब राहत कोषमा जम्मा गर्ने घोषणा गर्दै सबै वडा कार्यालयलगायत संघसंस्थाहरुलाई उद्धार तथा राहतमा लाग्न आग्रह गरेका छन् ।   

इटहरीमा बाढीका कारण मृत्यु हुने र बेपत्ता हुनेको यकिन तथ्यांक आइ नसकेको वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताए । उनले तीन जना हराइरहेको अपुष्ट जानकारी प्राप्त भएको बताउँदै प्रहरीले मृत्यु भएको वा हराएको बारे कुनै लिखित पुष्टि नगरीसकेको बताए । 

उनले क्षती भएका घरहरुको क्षतीको विवरणसमेत नआइसकेको जानकारी दिए । 

चौधरीका अनुसार यो पटक एकैपटक धेरै पानी परेकोले बाढी आएको बताए । उनले शेहरा खोला टेंग्रा खोलामा पसेको पनि यकिन नभएको बताउँदै प्लटिङको बाटो, महेन्द्र राजमार्गका पुराना कल्भर्ट तथा सुनसरी मोरंग सिँचाइ आयोजनाको कल्भर्टहरु ब्लक भएकोले पानीको निकास नभएर डुबान भएको जानकारी दिए ।