१४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण विराटनगर डिपोमा थपिँदै

न्युजलय ११ कार्तिक २०७८, बिहिबार ०१:३२ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले विराटनगर डिपोमा १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण (ट्याङ्क) थप्ने काम अन्तिम चरणमा पुऱ्याएको छ । पेट्रोलको खपत बढ्न थालेपछि निगमले मट्टितेलका दुई ट्याङ्कलाई नै पेट्रोल ट्याङ्कमा रुपान्तरण गर्न लागेको हो ।


नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालय प्रमुख अशोक साहका अनुसार विराटनगर डिपोबाट दैनिक ४ देखि ५ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको छ । तर, डिपोमा हाल पेट्रोलको भण्डारण क्षमता जम्मा ५ सय ६० किलोलिटर छ ।


थप १४ सय किलोलिटरको क्षमता थपिँदा पेट्रोल ५ दिनलाई पुग्ने उनले बताए । ७ सय १० र ७ सय ५० किलोलिटर क्षमताका दुई ट्याङ्कलाई मट्टितेलको साटो पेट्रोल भण्डारणका रुपमा विस्तार गर्न लागिएको हो । यी ट्याङ्क रुपान्तरण गर्न २ करोड ५९ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।


साहका अनुसार विराटनगर डिपोबाट दैनिक २० किलोलिटर मात्रै मट्टितेल बिक्री हुन्छ । मट्टितेलको ट्याङ्क तीन वटा रहेकोमा अब एउटा मात्रै रहने छ । साहका अनुसार अबको १५ दिनमा काम सकिन्छ ।  


यस्तै डिपोबाट डिजेलको माग दैनिक एक हजार देखि १२ सय किलोलिटर छ । विराटनगर डिपोमा सिगुढी र बरौनीबाट इन्धन आायात हुन्छ । आयातित इन्धन १६ जिल्लामा वितरण हुन्छ ।