रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

न्युजलय ८ कार्तिक २०८१, बिहिबार ०३:०७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न बिहीवार अदालतले प्रहरीलाई अनुमति दिएको छ। उनी भूतपूर्व उपप्रधान एवं गृहमन्त्री पनि हुन्।

सहकारी ठगी प्रकरणमा उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले उनलाई हिरासतमा राख्न म्याद थप्न माग गरेपछि कास्की जिल्ला अदालतले उक्त निर्णय गरेको हो।

यसअघि अदालतले उनलाई छ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

सहकारी प्रकरणको छानबिनका लागि यसअघि नै पक्राउ परेका गोर्खा मिडियाका सञ्चालकमध्येका छविलाल जोशीलाई पनि प्रहरीले पुनः कास्की लगेर अदालतमा पेस गरेको थियो। जोशी भूतपूर्व प्रहरी नायब महानिरीक्षक हुन्।