काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् ।
एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं ।’
नेपाल र भारतको खेल भएको पाल्लेकेले रंगशाला त्रिभुवन विश्वविद्यालयको क्रिकेट स्टेडियम जस्तै भए पनि प्यारापिट र केही सुविधा भएको भन्दै इन्जिनियरसमेत रहेका उनले यस्तै सुविधको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा बनाउन सकिने बताएका छन् ।
क्रिकेट समर्थकको रुपमा खेल हेर्न श्रीलंका पुगेका उनले नेपालीहरु देखेर श्रीलंकाको अध्यागमनका कर्मचारी नै आश्चर्यमा परेको बताएका छन् ।