२०७८ साल कार्तिक ७ गते अाईतबार

डिभोर्स भएको चार वर्षपछि मनोज गजुरेलले गरे विवाह

न्युजलय २५ असोज २०७८, सोमबार १२:४१ मा प्रकाशित

काठमाडौ । हाँस्य कलाकार मनोज गजुरेलले नयाँ जीवनसाथी छानेका छन् । चार वर्षअघि डिभोर्स गरेका उनले सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै नयाँ विवाह गरेको जानकारी दिँदै श्रीमती सार्वजनिक गरेका छन् । 

उनले सरकारी जागिरे अधिकृत मन्जु पोखरेलसँग विवाह गरेको बताएका छन् । उनले डोलेश्वर महादेवको मन्दिरमा परिवारको उपस्थितिमा विवाह गरेको र मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर–खाएर विवाह सम्पन्न गरेको जानकारी दिएका छन् । 

उनले आफूहरुको बारेमा काल्पनीक समाचार नबनाइदिनसमेत सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । केही समयअघिसम्म गजुरेललाई विभिन्न महिलाहरुसँग नाम जोडेर चर्चामा ल्याइएको थियो । 

‘कसैको निजी जीवनका बारेमा कपोकल्पित  समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु,’ उनले भनेका छन् । 

उनले पुर्वपत्नीले विगतमा दिएका अन्तर्वार्ताहरुले आफूहरुलाई ठूलो मानसिक तनाव दिएको समेत लेखेका छन् । ‘विगतमा दिएका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ,’ उनले लेखेका छन्, ‘त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ, कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला ।’