एनएसल सम्झौता रद्ध गरेर विमल घर्ती मगर पनि गए अस्ट्रेलिया

न्युजलय १२ असोज २०८०, शुक्रबार ०५:१७ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन् ।


नेपाल सुपर लिग (एनएसल) का लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडीका रुपमा अनुबन्ध भइसकेका विमल सम्झौता रद्ध गर्दै शुक्रबार अस्ट्रेलिया उडेका हुन् । 



नेपालका लागि ३९ खेलमा ९ गोल गरेका उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए । सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए ।

त्यसपछि युरोपका विभिन्न क्लबमा ट्रायल दिएका विमलले गत सिजनको लिग मछिन्द्र एफसीबाट खेलेका थिए।



नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका खेलाडी अस्ट्रेलिया जाने अझै रोकिएको छैन । आफ्नो सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया जाने खेलाडीको सूचीमा फरवार्ड विमल घर्तिमगर पनि थपिएका छन् । दुई वर्षमा दुई दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइसकेका छन् ।