सेसेल्स । साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित नियात्रा निबन्धसङ्ग्रह ‘नक्शामा नभएको देश’ पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित, भिक्टोरियामा अफ्रिका लोकार्पण सम्पन्न भएको छ ।
एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज वि. क. तथा विशेष अतिथि एनआरएनए अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन रहेका थिए । कार्यक्रममा एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्य सहित उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन् ।
प्रमुख अतिथि वि.क. ले पुस्तक एक ऐतिहासिक दस्तावेज समेत भएको र यसले दुर दराजको सेसेल्सलाई चिनाएको भन्दै प्रसंसा व्यक्त गरे ।
पुस्तकका स्रष्टा गणेश खड्काले बोल्दै सेसेल्सलाई चिनाउनका लागि आफूले पुस्तक लेखेको बताए । उनले भने, ‘म सेसेल्स भन्ने देशमा जागीर खान जान लागेको कुरा गर्दा कसैले नपत्याएको र नक्शामा खोज्दा समेत नभेटेपछि यसको बारेमा खोज, अनुसन्धान गरेर केहि त लेख्नैपर्छ भनेर पुस्तक प्रकाशन गरेको हुँ ।’
एनआरएनए सेसेल्स र अनेसास अफ्रिका महादेशीय च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका सदस्य कवि महेन्द्र भट्टराईले पुस्तकको समीक्षात्मक परिचर्चा गरेका थिए । त्यसैगरी कार्यक्रमको सहजिकरण अनेसास अफ्रिका च्याप्टरका महासचिव कवि आरसीराई र सदस्य कवि गायत्री कुलुङले गरेका थिए ।