ट्वीटरमा निलो टिको भएका प्रयोगकर्ताले १ घण्टाको भिडियो अपलोड गर्नसक्ने

न्युजलय १८ माघ २०७९, बुधबार ०१:१२ मा प्रकाशित

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरमा निलो टिको हुने प्रयोगकर्ताहरुले १ घण्टासम्मको भिडियो अपलोड गर्नसक्ने भएका छन् ।


अबदेखि अधिकतम ६० मिनेटसम्मको, १०८० पिक्सेल रिजोलुसन र २ गिगाबाइट आकारसम्मको भिडियो ट्वीटरमा अपलोड गर्न सक्ने भएका हुन् । ट्वीटर ब्लू पेजमा उल्लेख भए अनुसार यो सुविधा ट्वीटरको वेब भर्सनमा उपलब्ध हुनेछ । 

यसअघि ट्वीटर ब्लू सब्सक्राइबरहरुलाई १० मिनेटसम्म लामो, १०८० पिक्सेल र ५१२ मेगाबाइट सम्मको भिडियो अपलोड गर्नसक्ने सुविधा थियो । अहिले ट्वीटरको वेब भर्सनमा १ घण्टासम्मको भिडियो अपलोड गर्न सकिने सुविधा सुरु भए पनि एन्ड्रोइड र आइओएस प्लाटफर्ममा ट्वीटर ब्लू चलाउनुहुन्छ भने १० मिनेटको पावन्दी नै लागू हुनेछ ।

ट्वीटरको प्लाटफर्ममा भिडियोको गुणस्तरलाई उच्च बनाउनका लागि अथक मेहेनत गरिरहेको पनि ट्वीटरले जनाएको छ ।

प्लाटफर्ममा लामो आकारका भिडियोहरु अपलोड गर्ने सुविधा प्रदान गरेसँगै ट्वीटरले पाइरेसीको चुनौतिसमेत सामना गर्नुपर्नेछ । प्रयोगकर्ताहरुले पूरै फिल्म तथा टेलिभिजन शो नै अपलोड गर्न सक्छन् र ट्वीटरका मोडेरेटर तथा अटोमेटेड सिस्टमले त्यस्ता सामग्री हटाउनका लागि तुरुन्तै सम्बन्धित प्रयोगकर्तालाई सूचना दिनुपर्नेछ । गत महिना ट्वीटरको कपिराइट सिस्टमले केही समय काम नगरेको बेला प्रयोगकर्ताहरुले टुक्रा टुक्रा पारेर पूरै फिल्म नै ट्वीटरमा अपलोड गरेका थिए । ६० मिनेटको भिडियो पोष्ट गर्न सकिने नयाँ सुविधाले त्यस्ता कामलाई दुरुत्साहित गर्नेछ ।

ट्वीटरले ब्लू प्रयोगकर्ताहरुलाई रिप्लाइमा समेत प्राथमिकता दिनेछ । अर्थात् ब्लू टिकधारीले ट्वीटरमा गरेको रिप्लाइ अन्य आम प्रयोगकर्ताको रिप्लाइभन्दा माथि देखिनेछ ।

ट्वीटरले यो महिनाको सुरुमा ट्वीटर ब्लू पुनः सुरुवात गरेको हो । यसअघि नोभेम्बरमा पहिलोपटक सुरुवात गरिएको ट्वीटर ब्लू सब्सक्रिप्सन विभिन्न दुरुपयोगको विवादका कारण रोकिएको थियो । अहिले आईओएस तथा एन्ड्रोइड प्रयोगकर्ताले ट्वीटर ब्लू सब्सक्राइब गर्नका लागि मासिक ११ डलर शुल्क तिर्नुपर्दछ भने वेब भर्सन प्रयोग गर्नेले मासिक ८ डलर तिर्नुपर्दछ ।