रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

न्युजलय २५ जेठ २०८१, शुक्रबार ०७:१६ मा प्रकाशित

विराटनगर । मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि एउटा समूहले दुर्व्यवहार गरेको छ। 

नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

उनका अनुसार ६ जनाको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर आचार्य र न्यौपानेलाई दुरव्र्यवहार एवं हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

सोही समूहको आक्रमणमा परेर ४ जना नगरप्रहरी समेत सामान्य घाइते भएका छन्। 

घटनाको जानकारी पाउनसाथ खटिएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले दुर्व्यवहार एवं आक्रमणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव,  २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्। 

पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने प्रहरीको तयारी छ।