राष्ट्र बैंकको निर्देशनमा खुल्न थाले आयात रोकिएका वस्तुको एलसी

न्युजलय २१ बैशाख २०७९, बुधबार ०१:११ मा प्रकाशित

काठमाडौं । राष्ट्र बैंकको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरुको प्रतीतपत्र (एलसी) खुल्न थालेको छ ।


केन्द्रीय बैंकको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरुको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैंक तथा व्यापारीहरुले बताएका छन् ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैंकको मौखिक निर्देशनमा रोकिएको एलसी नियमित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


गत हप्ताको अन्त्यतिरबाट सुन आयातको एलसी खुलको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । 


बन्दपछि खोलिएको एलसीको सुन आउन भने अझै केहीदिन लाग्ने पनि अध्यक्ष शाक्यले बताए ।  


नेपाल इम्पोटर्स एसोसिएसनले पनि सरकारले तोकेको १० प्रकारबाहेकका अन्य वस्तुको आयातको एलसी खुलेको जनाएको छ । करिब ३ सय प्रकारका शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएका वस्तुको आयात एलसी खुलेको संघका वरिष्ठ उपाध्यक्ष एसबी ढकालले बताए ।