प्रदेश १ का तीन जिल्लाका सीमामा यस्तो छ कोरोना रोक्ने तयारी

शंकर खत्री २ माघ २०७८, आइतबार ०७:२७ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो एक साता यता कोरोना संक्रमितको संख्या बढ्दो छ । एक साता पहिलासम्म मुस्किलले एक सय जना संक्रमित देखिने गरेको प्रदेश १ मा अहिले त्यो संख्या बढेर चार गुणा बढी हुन थालेको छ । प्रदेश १ को झापा, मोरङ, सुनसरी, ताप्लेजुङ्ग र इलाम भारतसँग सिमा जोडिएका जिल्लाहरु हुन् । ती मध्ये पनि तराईका तीन जिल्लाहरु झापा, मोरङ र सुनसरीबाट बढी मात्रामा मानिसहरु आवातजावात गर्ने गरेका छन् । 


भारतमा कोरोनाको तेश्रो लहरले दोस्रो लहर झैँ हायलकायल बनाइरहेको छ । योसँगै नेपाली सिमावर्ती क्षेत्रमा पनि कोरोना संक्रमित देखिन थालेका छन् । सोहि कारण नेपालले तेश्रो लहरलाई कम गर्न सिमा नाकामा कडाइ गर्ने समय आएको छ । तर, सिमा नाकामा कडाई गर्ने सम्बन्धमा जिल्लागत तयारी हेर्ने हो भने प्रदेश १ मा मिश्रित खालको तयारी छ । 


झापाले स्वास्थ्य परिक्षणसहित नेपाल प्रवेश गर्न दिएको छ भने सुनसरीमा मानिसहरु विना रोकावट आवातजावत गर्ने गरेका छन् । संक्रमितको पछिल्लो अद्याविक हेर्ने हो भने झापामा भन्दा सुनसरीमा तीन गुणा बढी संक्रमित दैनिक थपिहेका छन् । जोखिम बढी भए पनि सुनसरीले पुर्वतायरी मात्रै होइन्, सिमा नाकामा परिक्षण स्थल समते बनाउन सकेको छैन । मोरङमा तीन वटा नाकाबाट मानवीय आवातजावत बढे पनि एउटा नाकामा मात्रै हेल्थ डेस्क राखिएको छ । 


सुनसरीका सिमा नाकाबाट निर्बाध आवातजावात

सुनसरी सिमा सुरक्षाका हिसाबले प्रदेश १ कै संवेदनशील जिल्लामा मानिन्छ । कोरोना संक्रमितलाई नै आधार मान्ने हो भने पनि सुनसरी मोरङपछि बढी संक्रमित देखिने जिल्ला पर्छ । सुनसरीमा पछिल्लो दिनमा दैनिक एक सय जना भन्दा बढीमा संक्रमण देखिँदै आएको छ । संक्रमणदर बढे पनि सुनसरीका सिमा नाकामा कुनै कडाइ गरिएको छैन । 


सुनसरीको ६२ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । यहाँ साना ठूला १५ वटा नाका रहेका छन् । त्यसमध्ये भन्टाबारी नाकाबाट वैधानीक रुपमा आवातजावात हुने गरेको छ । तर यो नाकामा कुनै स्वास्थ्य सामाधानी अपनाइएको छैन । सवारीसाधनको काजजात सामान्य चेक जाँच बाहेक अन्य केहि हुन सकेको छैन । मानिसहर निर्बाध रुपमा आवात जावात गरिरहेका छन् । सामान्य मास्क लाए नलाएको समेत चेकजाँच हुने गरेको छैन । गत वर्ष कोशी गाउँपालिकाले राखेका हेल्थ सेन्टर पनि हटिसकेकको छ । अहिले यहाँ प्रहरी र भन्सारका कर्मचारी मात्रै रहेका छन् । 


झापामा परिक्षणपछि मात्रै प्रवेश इजाजत, एक हजार बेड क्षमताको होल्डिङ सेन्टर बान्दै

झापाको १४५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । छिमेकि देश भारत र सिमावर्ती क्षेत्रमा समेत कोरोना भाइरसको नयाँ भेरियन्टका संक्रमितको संख्या बढेसँगै झापाले सिमा आवातजावातमा कडाइ गरेको छ । झापाका काँकडभिट्टा र भद्रपुर नाकाबाट नेपाल–भारत आवातजावात हुने गरेको छ । यी नाकामा हेल्थ डेस्क नै राखेर सावधानी अपनाइएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । 


यी नाकामा नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको संयुक्त पहलामा हेल्थ डेस्क सञ्चालन गरेको उनले जानकारी दिए । सिमा आवातजावातमा स्वास्थ्य परिक्षणलाई अनिर्वाय गरिएको उनले जानकारी दिए । ‘हामीले हेल्थ डेस्क नै सञ्चालन गरेर परिक्षण गरिरहेका छौँ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘सुरुमा ज्वरो नाप्छौँ । संका लागेमा तत्कालै एन्टिजेन परिक्षण गर्छौँ । र, पोजेटिभ देखिएका घरसम्म पुर्याउँछौँ ।’ 


यसका साथै जिल्लामा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । नयाँ भेरियन्टको संक्रमण तिब्र रुपमा फैलिँदै गएकाले जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा होल्डिङ सेन्टर निर्माण गरिएको उनले जानकारी दिए । झापा पनि कोरोना संक्रमितको संख्या एक साता यता बढ्दो छ । 



मोरङमा रानी भन्सारमा मात्रै हेल्थ डेस्क

मोरङमा तीन वटा नाकाबाट मानीसहरु नेपाल भारत आवातजावात गरिरहेका छन् । मोरङको ६३ दशमलव २ किलोमिटर क्षेत्र भारतसँग खुल्ला सिमा जोडिएको छ । रानी भन्सार नाका मोरङकोमा नभएर नेपालकै एक प्रमुख भन्सार नाका हो । यहाँबाट दैनिक हजारौँको संख्यामा सवारीसाधन र मानिसहरुको आवात जावात हुने गरेको छ । 


यो सँगै रंगेली र सुनवर्षीमा हरेको भन्सार नाकाबाट समेत मानिसहरुको आवातजावात हुने गरेको छ । ती मध्ये रानी भन्सार नाकामा मात्रै कोरोना परिक्षणको लागि हेल्थ डेस्क राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । अन्य दुई नाकामा स्थानीय मानिसहरु मात्रै आवातजावात गर्ने भएकाले हेल्थ डेस्क नराखिएको उनको तर्क छ । ‘हामीले रानी, रंगेली र सुनवर्षीमा रहेको भन्सारबाट मानविय आवातजावात गर्न दिएका छौँ’, प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘अहिले रानीमा चाहिँ हामीले हेल्थ डेस्क राखेका छौँ । अरुमा त्यहिँका मानिसहरु मात्रै आवातजावात गर्ने गर्नुभएको छ । त्यसैले हेल्थ डेस्क राखेका छैनौँ ।’