काठमाडौँ । रूसको सुदूरपूर्वी कमचाट्का क्षेत्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
यो भूकम्पलाई कमचाट्का क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भनिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण विभागका अनुसार, मंगलबारको भूकम्प रूसको सुदूरपूर्वमा पर्ने पेट्रोपाभ्लोभ्स्क(कमचाट्स्की सहरदेखि १ सय ३६ किलोमिटर पूर्वमा गएको हो । यो क्षेत्र जापानको उत्तरी टापु होक्काइडोको नजिकै पर्छ ।
जापानको मौसम विज्ञान विभागले देशको पूर्वी तटीय क्षेत्रमा तीन मिटर उचाइसम्मका सामुद्रिक छाल आउनसक्ने चेतावनी दिएको छ । यो भनेको घरहरू डुबाउन सक्ने सुनामी हो । त्यस्तै, ताइवान, फिलिपिन्स, हवाई र अलास्काको अलेउटियन टापुहरूमा पनि सुनामीको चेतावनी जारी गरिएको छ । अमेरिकाको पश्चिमी तटको अधिकांश भाग पनि जोखिममा रहेको बताइएको छ ।
मंगलबारको भूकम्पमा ठूलो जनधनको क्षति भएको विवरण आएको छैन । रुसी समाचार संस्था तासका अनुसार, भूकम्पमा केही व्यक्ति घाइते भएर अस्पताल भर्ना भएका छन् । केही भौतिक संरचनाहरूमा क्षति पुगेको छ ।