सहकारीमार्फत् समाजको लागि गरेँ, अब पार्टी नेतृत्वमा रहेर देशको लागि सेवा गर्ने इच्छा छ’

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार ०४:३१ मा प्रकाशित

अमृता सुब्बा सहकारी क्षेत्रको परिचित नाम हो । इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्था लि। कि अध्यक्ष सुब्बा राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य र नेप्सकुनको निवर्तमान उपाध्यक्षसमेत हुन् । 

त्यसो त सुब्बालाई इटहरीका पहिलो मेयर तथा प्रदेश सांसद सर्वध्वज साँवाकी श्रीमतीको रुपमा समेत धेरैले चिन्छन् । साँवा आफैमा इटहरीका लोकप्रिय र इमान्दार जनप्रतिनिधि हुन् । तर सुब्बालाई परिचित गराउनको लागि देशमै उदाहरणीय महिला सहकारी बनाउने श्रेय नै काफी छ ।

सहकारीको नेतृत्वकर्ताबाहेक उनी एक स्कुल सञ्चालकसमेत हुन् । त्यसबाहेक केही पसलहरुसमेत सञ्चालन गरि रोजगारी सृजना र समाजको आर्थिक विकासमा समेत योगदान दिइरहेकी छिन् । 

त्यसबाहेक सुब्बा एक कुशल राजनीतिज्ञ पनि हुन् । १६ वर्षको बाल्यकालदेखि नै राजनीति थालेकी उनी मदन भण्डारीलगायत कम्युनिष्टका शीर्ष नेतृत्वहरुको वरीपरी हुर्किन् । 

असल राजनीतिक संस्कारलाई जीवनमा अबलम्बन गरेकी उनले बिचमा आफ्ना श्रीमानलाई राजनीतिमा सहयोग गरिन् । श्रीमानलाई सहयोग गर्नुपरेकैले उनी आफै भने राजनीतिको नेतृत्वमा आउन सकिनन् । तर यतिखेर भने उनी नेकपा एमालेको केन्द्रीय सदस्यको रुपमा उम्मेदवारी दिने योजनामा छिन् । राजनीतिमा सक्रिय हुने रहर कसरी पलायो र के के योजना छन्, संक्षिप्त कुराकानी प्रस्तुत छ । 

तपाइको आफ्नो पारिवारिक तथा शैक्षिक पृष्ठभूमीबारे जानकारी दिनु न ।


मेरो जन्म अहिलेको सुन्दरहरैंचा ४ मोरंगमा २०२० सालमा भएको थियो । मेरा एक छोरा र एक छोरी छिन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी छु । त्यतीखेर घरको पनि काम गर्दै श्रीमानलाई पनि सहयोग गर्दै निकै दुःखले पढियो, सँगै कृषि विकास बैंकमा जागिरे भएर घर खर्च जुटाउनको लागि काम गरेँ । अनि पछि सहकारी संस्था खोलेर त्यसको नेतृत्व गरेँ ।

बैंक तथा वित्तीय संस्थामा कसरी झुकाव भयो ? अनि सहकारीको सुरुवात कसरी गर्नुभयो ?

म मेरो रोजीरोटीको लागि बैंकमा आबद्ध भएको थिएँ । त्यसपछि महिलाहरुको आर्थिक, सामाजिक सांस्कृतिक विकासको लागि र सशक्तीकरण गरेर लानुपर्छ भन्ने लागिरहेको थियो । त्यसको लागि कुनै एनजिओ सञ्चालन गर्ने कि भनेर पनि सोँच बनाएँ ।

तर त्यो डोनेसनमा भर पर्नुपथ्र्यो । सहकारीमा भने त्यस्तो हुँदैन । आफै जम्मा गर्ने र आफैले त्यो बचतको परिचालन गर्ने हुँदा आर्थिक विकाससँगै सामाजिक काम पनि गर्ने अवसर मिल्ने भएकोले मैले यो संस्था स्थापना गरेँ ।

महिला बचत सहकारी देशमै महिलाले सञ्चालन गरेको उत्कृष्ठ सहकारीमध्ये पर्छ, के छ विशेषता ? 

२०५५ सालमा दुई दर्जन महिलाहरुको सहभागितामा सञ्चालनमा आएको यो सहकारी आजका दिनमा ८ हजार ६०० बढी शेयर सदस्य, १५ हजार बढी खाता, ८ करोडको शेयर पुँजी तथा ५५ करोड बचत र ५४ करोड ऋण लगानी भएको संस्था बनेको छ । चुस्त दुरुस्त व्यवस्थापनमा ध्यान दिएकैले यो संस्थाले विगत केही वर्षदेखि एसियाली स्तरको एक्सेस ब्राण्ड प्राप्त गरिरहेको छ । इटहरी ४ मा मुख्य कार्यालय रहेको सहकारीले तरहरा र खनार बजारमासमेत गरेर ६ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।

मैले संस्था स्थापना गरेर केही वर्ष चलाएर एउटा उचाइमा पुर्याएँ । त्यसपछि बिचमा केही समय जिम्मेवारीमुक्त भएँ । तर सदस्यहरुले मलाई नै आउनुपर्छ भनेर जोड गर्नुभयो, त्यसपछि फेरी मैले नेतृत्व लिएँ । राष्ट्रिय सहकारी बैंक र सहकारी महासंघको संस्थापक सदस्यसमेत भएर काम गरेँ ।

केही सहकारीहरु चल्ने, बन्द गर्ने अनि कतिपयमा प्रबन्धकहरुले मनोमानी गरेका सहकारीहरु पनि छन् । त्यस्ता सहकारीहरुको भीडमा महिला बचतले प्रगती गर्नुको कारण के होला ?

कुनैपनि संस्था वा समुह वा संगठनलाई अग्रगामी दिशा दिनको लागि सुशासनको पाटोलाई अघि बढाउनुपर्छ । व्यवस्थापन चुस्त दुरुस्त हुनुपर्छ । नीति, विधि र प्रविधिलाई व्यवस्थित गर्नुपर्छ । नजानेको कुरा सिकेर अघि बढ्नुपर्छ । नेतृत्वमा इमान्दारिता र संगठनलाई अघि बढाउन आवश्यक सबै स्रोत साधन जुटाउने क्षमता पनि हुनुपर्छ । 

तपाइको आफ्नो राजनीतिक पृष्ठभूमीबारे बताइदिनु न ।

१६ वर्षको उमेरमा राजनीति सुरु गरेको थिएँ । त्यतीबेला नेकपा ९माले० को रेड बाल गार्ड भन्थे । त्यसमार्फत् सक्रिय थिएँ । सानोमा अलिलि सम्झना छ, आमा त्यतीबेलाको कम्युनिष्ट आन्दोलनलाई खुलेरै सघाउनुहुन्थ्यो । एकल महिला हुनुहुन्थ्यो । हाम्रो घर कम्युनिष्टको बैठक बस्ने ठाउँ थियो ।।  

बुईकलमाथि मदन भण्डारी, सर्वध्वज साँवा, राजेश वान्तवा लगायत बैठक बस्नुहुन्थ्यो । पञ्चायती व्यवस्थाविरुद्धका रणनीतिहरु बनाइन्थ्यो । प्रहरी आउँछन् कि भनेर रुँघ्नको लागि हामीलाई भर्याङमा राख्थे । चिठिपत्र ल्याउने र पुर्याउने काम गथ्र्यौं । 

३७ सालदेखि ४० सालसम्म अनेरास्ववियु प्राक जिल्ला कमिटिमा रहेर काम गरेँ । त्यसपछि ४० देखि ६८ सालसम्म मोर्चा कमिटिहरुको कोर टिमलाई फ्र्याक्सन भनिन्थ्यो, त्यसमा सहकारी र कर्मचारी सेक्टरमा रहेर काम गरेँ ।

६९ देखि अहिलेसम्म निर्वाचित जिल्ला कमिटि सदस्य हुँदै प्रदेश कमिटि सदस्य अनि अनेमसँघ सचिवालय सदस्यको रुपमा राजनीतिमा सक्रिय छु ।

श्रीमान राजनीतिज्ञ हुनुहुन्छ, त्यसले तपाइलाई पनि राजनीतिमा अवसर मिलेको हो ?

श्रीमानको कारणले मैले राजनीति गरेँ भन्नु गलत हुन्छ । श्रीमानलाई बरु राजनीतिमा सहयोग मैले गरेकी हुँ । मैले घर, परिवार र व्यवहारमा मैले पछाडी रहेर गरेको सहयोगकै कारण बुढा राजनीतिमा सक्रिय हुन पाउनुभयो । भूमीगत राजनीतिमा जानुभयो अनि आएपछि खुला राजनीतिमा लाग्नुभयो । ब्याक बोनको रुपमा मैले श्रीमानलाई सहयोग गरेँ ।

अहिले केन्द्रिय सदस्य बन्ने दौडमा हुनुहुन्छ, आफै चाहिँ राजनीतिमा किन आउन खोज्दै हुनुहुन्छ ?

यो स्वभाविक दौड हो । म प्रदेश समिति सदस्य भएर काम गरिसकेको र पार्टीका सिंगो नेतृत्व पंक्तिदेखि स्थानीय नेता, कार्यकर्ताहरुसँग राम्रो सम्बन्ध भएको अनि बाल्यकालदेखि नै पार्टीको सशक्त कार्यकर्ता भएको हिसाबले पनि केन्द्रिय सदस्य मेरो स्वभाविक आकांक्षा हो । पार्टीलाई ब्याक बोनको रुपमा अहिलेसम्म योगदान गरेँ । 

सहकारीलाई एउटा हदसम्म नेतृत्व गरेर एउटा तहमा पुर्याएँ । अब अझ धेरै फराकिलो भएर सामाजिक काम गर्दै देश र समाजलाई योगदान दिने इच्छाले गर्दा मैले केन्द्रिय सदस्यमा दावेदारी दिएकी हुँ ।