एसिया कप क्रिकेटः श्रीलंका र पाकिस्तान भिड्दै

न्युजलय २८ भदौ २०८०, बिहिबार ०८:२१ मा प्रकाशित

काठमाडौं । एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दै छन् । फाइनलमा स्थान बनाउनका लागि यी दुई टोली खेल्न लागेका हुन् ।

यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ ।

एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १–१ खेलमा जित दर्ता गरेका छन् । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए ।

दुवै टोली भारतसँग पराजित भएका थिए । खेल जितेर दुवै टोली फाइनलमा स्थान बनाउँने लक्ष्यमा रहेका छन् । भारतले भने, एक खेल अगावै फाइनलमा स्थान बनाईसकेको छ ।

यस खेलमा विजेता बन्ने टोलीले फाइनलमा स्थान बनाउँने छ । तर, वर्षाका कारण खेल रद्द भएमा श्रीलंका रनरेटमा अघि रहेकाले फाइनलमा स्थान बनाउने छ ।