२०७८ साल मङ्सिर १३ गते सोमबार

जापान र अस्ट्रेलिया खुल्यो : भिसा लागिसकेका विद्यार्थीलाई तयार रहन आग्रह

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार ०७:२७ मा प्रकाशित

काठमाडौं । अध्ययनका लागि जापान र अस्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई तयार रहन इक्यानले आग्रह गरेको छ । ती देश खुला भएकोले तयारी अवस्थामा बस्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आग्रह गरेको हो । 

इक्यानले पत्रकार सम्मेलन गरेर अस्ट्रेलिया जान मात्रै ३ हजार ७ सय विद्यार्थी तयारी अवस्थामा रहेको भन्दै कोरोना महामारी समाप्तीसँगै ती देशको बोर्डर खुलेको जानकारी दिए । जापानले गत ८ नोभेम्बरदेखि नै पर्यटक भिसाबाहेक अन्य भिसाका लागि बोर्डर खुला भएको निर्णय गरेको थियो भने अस्ट्रेलियाले आगामी १ डिसेम्बरबाट विदेशी विद्यार्थीलगायत अन्य वर्गका यात्रुलाई बोर्डर खुला गर्ने निर्णय गरेको छ ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार अस्ट्रेलियाका लागि सन् २०२० को अप्रिलदेखि २०२१ को अप्रिलसम्म सीओई प्राप्त गरी शुल्क बुझाएर बसेका विद्यार्थीले आउँदो यही नोभेम्बर, डिसेम्बर र जनवरीमा प्रवेश अनुमति पाउनेछन् भने २०२१ को अप्रिल, जुलाई र अक्टोबरका विद्यार्थीलाई अस्ट्रेलिया जान आउँदो जनवरीपछि सूचना जारी गरिनेछ ।

योग्यता पुगेको भ्यालिड भिसा, कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र, प्रस्थान गरेको तीन दिनभित्रमा कोभिड परीक्षण गरी पोजेटिभ वा नेगेटिभ आएको रिपोर्ट समावेश हुनुपर्नेछ । पोजेटिभ आएमा अस्ट्रेलियाको केन्द्र तथा राज्य सरकारले निर्धारण गरेका क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ । हाल क्वारेन्टिनमा नबसी अस्ट्रेलियाको न्यु साउथ वेल्स, भिक्टोरिया र अस्ट्रेलियन क्यापिटल टेरिटोरीले मात्रै प्रवेश दिएको पनि इक्यानले जानकारी दिएको छ ।

बोर्डर खुलेसँगै परामर्शदाता संस्थाहरुसमेत उत्साहित भएका छन् । लामो समयको बन्दाबन्दीको कारण आर्थिक गतिविधि ठप्प भएको र लगानी नै जोखिममा परेको उनीहरुले गुनासो गर्दै आएका थिए । राजधानीका परामर्शदाता संस्थासँगै राजधानीबाहिरका संस्थाहरुमा समेत ठूलो समस्या परेको थियो । 

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस इटहरीका प्रबन्धक भव तिम्सिनाले लामो समयको प्रतिक्षाको घडी सकिएकोले आफूहरु अब व्यवशाय नियमित गतिमा सञ्चालन हुने विश्वास व्यक्त गरे । आफूहरुले बेलायत, अमेरिका लगायतका देशहरुका लागिसमेत शैक्षिक परामर्श र सहयोग गर्दै आएपनि अधिकांश विद्यार्थीहरुको रुची भने अष्ट्रेलियाको लागि रहेको जानकारी दिए ।