सुपर खुदी हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने

न्युजलय १३ पुस २०८२, आइतबार १२:१४ मा प्रकाशित

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो।

जसमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता साधारण सेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिकाको वडा नं २ र ३ का स्थानीय बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण सेयर मर्स्याङ्दी गाउँपालिका वडा नं १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५५ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो।