उपप्राध्यापक अर्जुन उप्रेतीको नयाँ पुस्तक द लाप्चा

न्युजलय ८ मङ्सिर २०८२, आइतबार ०७:२५ मा प्रकाशित

इटहरी । बोलीचालीमा लेप्चा भनेपनि लाप्चा सही उच्चारण हो । नेपालको लोपोन्मुख जातिको सुचीमा रहेको लाप्चाहरुको संख्या २०७८ सालको जनगणनामा तीन हजार ५७८ छ ।

 

यति थोरै संख्यामा रहेको लाप्चाभित्र पनि ३७ जाति र समुदायहरु छन् । यो आफैमा आश्चर्यजनक तथ्य हो । यस्तै तथ्यहरु र लाप्चाबारे जानकारी समेटिएको पुस्तक हो, द लाप्चा (द डिसापियरिङ पिपल अफ इस्ट नेपाल) ।


इटहरीका समाजशास्त्र, मानवशास्त्र विषयका उपप्राध्यापक अर्जुन उप्रेतीले यो पुस्तक प्रकाशनमा ल्याएका हुन् । त्यसको लागि उनले चार वर्षको समय खर्चेका छन् । यसअघि उनले जसकुमार राईसँगको सहकार्यमा नेपालमा सुरुङयुद्ध नामक पुस्तक लेखेका थिए ।


लाप्चासम्बन्धि पुस्तकमा लाप्चा समुदायको भाषा, जन्म, मृत्यु र बिवाह संस्कार, लोकरीति र परम्परा, धार्मीक विश्वास र सामाजिक साँस्कृतिक मूल्यमान्यता जस्ता विषयहरुका बहुआयामिक पक्षहरु समेटिएको छ । उनीहरुले प्रयोग गर्ने विभिन्न सामाग्रीहरुको सचित्र वर्णन गरिएको छ ।


नेपालका सीमान्तकृत लोपोन्मुख आदिवासी जनजाति लाप्चाको मुख्य वासस्थान पूर्वी नेपालको इलाम जिल्लाका पूर्वी दक्षिण गाउँपालिका तथा नगरपालिका क्षेत्र र झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका हो । कञ्चचनजंघा हिमालको फेदमा उत्पति भएर बिस्तारै फैलिदै दक्षिणपूर्व तर्फ बसाई सराई गर्दै आउने क्रममा सिक्किमको नाम्चीदेखि इलामको पूर्वी दक्षिणभाग सम्म यिनिहरुको बसोबास रहेको छ ।


तथ्यअनुसार इलाममा बसोबास गर्ने लेप्चा जातिहरु नेपाल एकीकरणमा गोर्खाली फौजलाई सघाउँदै १८५६ देखि लालमोहर पाएर इलाम जिल्लाको सूर्योदय नगरपालिकामा बसोबास गर्दै आइरहेका छन् । अगुवा लेप्चालाई १८९५ मा काजी सुब्बाको दर्जा दिइएको पाइन्छ ।


लाप्चाहरु हिंसा विरोधी जातिमा पर्दछन् । अन्तिम लाप्चा राजा, सिगम (पुनु) ले कोच समुदायसँग युद्धविराम सम्झौता गर्दै थप द्वन्द्वबाट टाढा रहने प्रतिज्ञा गरेदेखि लाप्चाहरु हिंसाबाट टाढा छन् ।


लाप्चा समुदायका आफ्नै रैथाने अभ्यासछन् जुन अन्य समुदाका भन्दा पृथक, रहरलाग्दा र ऐतिहासिक पनि छन् । समाजमा महिलाको स्थान पुरुषको भन्दा उच्च छ । घरपरिवारमा सबै मातृसत्तात्मक अभ्यास हुन्छ तर नेपाली समाज पितृसत्तात्मक भएकाले सामाजिक रुपमा भने पुरुषले नै परिवारको नेतृत्व गर्दछन् । 


लाप्चा समुदायका कैयन् संस्कारहरु अनौठा छन् । लाप्चा समुदायमा विवाह गर्न चाहने युवाले हुनेवाला दुलहीको घरमा एक वर्ष बिताउनुपर्छ । त्यसअवधिमा दुलहीको परिवारले दुलहालाई नजिकबाट जाँच्छन् । छोरी पाल्न सक्ने हो कि होइन, व्यवहार कस्तो छ भन्ने कुरा तोकिएका कामहरु हेरेर थाहा पाउँछन् । समुदायको नेतृत्व बुङथिङ (पुजारी) र याबा (शमन) ले गर्छन् । 


नेपालमा लोपोन्मुख धेरै जातिहरुमध्ये लाप्चाको बारेमा यस्ता धेरै कुरा जान्नलाई यो पुस्तकले सहयोग गर्छ । पुस्तक अंग्रेजी भाषामा छ । मञ्जरी प्रकाशनद्वारा प्रकाशित पुस्तक एक सय ३० पृष्ठको छ । पुस्तकको मूल्य तीन सय रुपैयाँ रहेको छ ।